चन्द्रपुर,२४ भदौ ।
जिल्लाको चन्द्रपुर नगर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
चन्द्रपुर–३ गैडाटारमा लगाइएको केरा खेतीमा पानामा रोगको संक्रमण देखा परेको हो ।
गैडाटारका स्थानीय किसानले लगाएको केराखेतीमा रोग देखिएपछि आफ्नो श्रम, मिहिनेत र सारा लगानी डुब्ने चिन्ता उनीहरूलाई छ । गैडाटारमा लगभग ८० बिघा क्षेत्रफलमा लगाइएको सो केरा खेतीमा पानामा नामक रोगको संक्रमण भएपछि किसानहरु निराश छन् ।
विगतमा केराबाट राम्रै आम्दानी हुने गरेको तर, अहिले पानामा रोगले केराका विरुवाहरु पहेलो हुने केराको भित्री गोभा नै कुहिने गरेकाले विरुवाहरु दिनानुदिन नष्ट हुँदै गएकोले उत्पादनमा कमी आउने स्थानीय किसान विष्णु न्यौपानेको भनाइ छ ।
केरा खेतीमा आएको यस समस्याहरुप्रति सम्बन्धित निकायको ध्यान जान नसकेको अर्का स्थानीय किसान सुरेश तिमल्सिनाले गुनासो पोखे ।
गत जेठमा आएको हावाहुरीले केरामा धेरै नोक्सान भएको र पुन अहिले पानामा रोगले सताएपछि किसानहरू धेरै चिन्तित बन्नुपरेको उनले बताए ।
गैडाटारका ५० बिघा जग्गामा स्थानीयले केरा खेती गरेका छन् भने ३० बिघामा भने लिजमा केरा खेती किसानहरुले गरिरहेका छन् ।
एक केराको बोटमा ७० कोसादेखि बढीमा १५० कोसा केरा फल्ने गरेको स्थानीय किसान दिपेन्द्र न्यौपानेले जानकारी दिए ।
हाल केरामा लागेको पानामा रोगले हजारौँ केराका विरुवा पहेँलो भएपछि काटेर फाल्ने गरेको स्थानीय किसान सर्मिला गौतमले बताइन् ।
किसानहरुको दिनानुदिन केराका विरुवाहरु पहेँलो हुँदै गएकोले पानामा रोगको नियन्त्रणका लागि सम्बन्धित निकायहरूलाई उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here