चन्द्रपुर,२६ भदौ ।
नेपाल सरकारले कोरोना पीडितका लागि छुट्याएको अनुदान रकम हिनामिना गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । रौतहटस्थित परोहा नगरपालिकाले २ वर्षअघि कोरोना पीडितलाई वितरण गर्न भनि एक सहकारी संस्थालाई दिएकोमा सो रकम हालसम्म अधिकांशले नपाएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । पालिकामा रहेको प्रभु बैंकलाई वितरण रकम नदिइ सहकारी संस्थाको खातामा रकम पठाइ नगर प्रमुख शेख वकिलले नियतबस भ्रष्टाचार गर्न खोजेको नेकपा माओवादीका नेता अमिन्द्र यादवको आरोप छ । उनले भनेका छन्, ‘नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थाले कोरोना पीडित जनताको लागि आएको सहयोग समयमा वितरण गर्नुपर्दछ । नियत भएको भए २ वर्षदेखि पक्कै रोकेर राख्दैन थिए ।’
नगरप्रमुख शेख र सहकारीले रकम हिनामिना गर्न खोजेको आरोप लगाउँदै स्थानीय सतेन्द्र प्रसाद यादवले बुधबारसम्म अनुदान रकम प्राप्त गर्न बाँकी रहेका कोरोना पीडितलाई रकम वितरण नगरे नगरपालिका घेराउ गर्ने चेतावनी सामाजिक सञ्जालमार्फत दिएका छन् ।
नगर प्रमुख शेख वकिलले नेपाल सरकारले परोहा नगरपालिकाका कोरोना पीडितलाई सहयोग गर्न सशर्त अनुदान शीर्षकमा ९० लाख रुपैयाँ पठाएको जानकारी दिए । रकम फ्रिज नहोस् भनी सहकारी संस्थाको खाता रकम पठाउन लगाएको प्रमुख शेखको भनाइ छ ।उनले सबै वडामा रकम वितरण भइरहेको दाबी गर्दै अब ३० लाख रुपैयाँ मात्र वितरण गर्न बाँकी रहेका बताए । ‘वडाको सिफारिसमा नगरपालिकाले उक्त रकम वितरण गर्न निकै कठिनाइ भएको थियो । चुनाव बीचमा परेका कारण पनि आफू बदनाम हुन्छु भन्ने डरले केही समय रकम रोकेर राखेको हुँ,’ नगर प्रमुख शेख वकिलले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here