रौतहट,२२ कार्तिक । इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्ममा हुने भएको छ । बुधबारसम्म बहस सकेर फैसला हुने जिल्ला अदालत रौतहटको तयारी छ ।
जिल्ला अदालत रौतहटका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको छ । आलम पक्षका वकिलको बहस पनि मंगलबार नै सकिएको छ । बाँकी केही वकिलको बहस बुधबार सकिने र त्यसलगत्तै मुद्दाको फैसला हुने जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले बताए ।
आलमविरुद्धको मुद्दाको मिसिल खोलिएको छ । मुद्दामा सरकारी वकिल पक्षको बहस सकिएको छ । प्रतिवादीको पक्षबाट पनि बहस भएका छन् । केही अधिवक्ताको बहस बाँकी छन् । सम्भवतः बुधबार उनीहरूकोे बहस सकिनेछ,’ उनले भने, ‘त्यसलगत्तै मुद्दाको फैसला होला, बिहीबारसम्ममा फैसला भइसक्ला ।’