रौतहट,१४ फागुन ।
रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसाद बालिका अपहरण प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका छन्। मकवानपुरस्थित जिल्ला अदालत मकवानपुरले न्यायाधीश पूर्णिमा कोइरालाको एकल इजलासमार्फत उनीमाथि थुनामा राख्ने आदेश जारी गरेको हो।
१४ वर्षीया बालिका अपहरणङ्को अभियोगमा दर्ता भएको मुद्दामा अदालतको आदेशअनुसार उनलाई प्रहरीले पक्राउ गरी मकवानपुरको भीमफेदी कारागारमा राखिएको छ। आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का सम्बन्धित दफाबमोजिम पुर्पक्षका लागि कारागार पठाउन भनिएको छ।
उक्त घटनामा संलग्न मानिएका रान्धिर यादव, अनिता देवी यादव, मनतजिर यादव, मेनुका कुमारी यादव र काजल कुमारी यादव भने हालसम्म फरार छन्।
गत पुस २ गतेदेखि बेपत्ता भएकी दुर्गाभगवती–४ छतौनाकी बालिकाको अवस्थाबारे अझै पुष्टि हुन सकेको छैन। प्रहरीले बालिकालाई छतौनाकै २० वर्षीय युवक दिलीपले हेटौँडाबाट भगाएको प्रारम्भिक विवरण दिएको छ। त्यसयता बालिका र ती युवक दुवै सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ।
बालिकाका बुबा नेमलाल राय यादवले घटनापछिने दिनमै मकवानपुर र रौतहटका सम्बन्धित प्रहरी कार्यालयहरूमा उजुरी दर्ता गराएका थिए।