वीरगञ्ज, ८ चैत — कागजमा विश्वविद्यालय, व्यवहारमा गोदाम ! वीरगञ्जस्थित मधेश विश्वविद्यालयको बस वर्षौँदेखि चल्ने नाममा थन्किएर धुलो खाइरहेको भेटिएको छ।
प्रदेश सरकारबाट स्थापना वर्षमै पाइएको प्रदेश २–०२–००१ स ००७८ नम्बरको बस अहिले विश्वविद्यालय परिसरमै ‘आराम फरमाइरहेको’ अवस्थामा छ। विद्यार्थी बोक्न किन, हेर्नेसमेत नपाएको बस चुपचाप थन्किएपछि यसको उपयोगितामाथि प्रश्न उठ्न थालेको छ।
उता, विश्वविद्यालय भने नेशनल ट्रेडिङको गोदाममा मासिक ४०–४५ हजार भाडा तिरेर सञ्चालन हुँदै आएको छ। आफ्नै बस थन्क्याएर भाडामा गोदाम धान्ने शैलीले विश्वविद्यालयको व्यवस्थापनमाथि व्यङ्ग्य उठेको छ।
विश्वविद्यालय प्रशासन भने ‘विद्यार्थी कम भएकाले बस आवश्यक छैन’ भन्दै पन्छिन खोजिरहेको छ। करिब ५ सय विद्यार्थी अध्ययनरत रहेको दाबी गरिए पनि बस दैनिक चलाउन नसकिएको र आवश्यकता पर्दा मात्र प्रयोग हुने रजिष्ट्रार विजय यादवले बताए।
हाल बिएएलएलबी, बिपिए र एमपिए संकाय सञ्चालनमा रहेको विश्वविद्यालयमा २४ शिक्षक र १८ कर्मचारी कार्यरत छन्। तर, जग्गा व्यवस्थापनको कुरा भने अझै कागजमै सीमित रहेको गुनासो प्रशासनकै छ।
बस थन्किएको, गोदाममा विश्वविद्यालय चलेको र जग्गा कागजमै अड्किएको अवस्थाले ‘मधेश विश्वविद्यालय’ नाम मात्रै ठूलो, व्यवस्थापन भने सानो भएको चर्चा चल्न थालेको छ।








