राजविराज । सप्तरीमा दलित समुदायकी १४ वर्षीया बालिकालाई गर्भवती बनाएपछि बेपत्ता पारिएको घटनाले गम्भीर रूप लिँदै गएको छ । तर, आरोप छ—प्रहरी अझै सुस्त छ । त्यसको विरोधमा आइतबार राजविराजमा दलित अगुवाहरू सडकमा उत्रिए ।
प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले दोषीलाई जोगाउने खेल भइरहेको आरोप लगाएका छन् । ज्ञापनपत्रमा चैत १ गते सुरुङ्गा नगरपालिका–३ मा भएको घटनाको विस्तृत उल्लेख छ ।
दलित अगुवाहरूका अनुसार, विगत करिब ८–१० वर्षदेखि बालश्रममा राखिएकी ती बालिकालाई गर्भवती बनाएपछि योजनाबद्ध रूपमा बेपत्ता पारिएको हो । घटनाका मुख्य आरोपी महेश्वर यादव र उनका सहयोगी धर्मदेव यादव अझै पक्राउ नपरेको भन्दै उनीहरूले प्रश्न उठाएका छन्—“किन ढिलाइ ?”
उल्टै पीडित पक्षलाई बयान फेर्न धम्की दिइरहेको आरोपसमेत ज्ञापनपत्रमा गरिएको छ । यसले घटनालाई झनै शंकास्पद बनाएको भन्दै दोषीलाई उन्मुक्ति दिने खतरनाक प्रयास भइरहेको दाबी गरिएको छ ।
घटनाकी पीडित बालिका करिब दुई सातादेखि सम्पर्कविहीन छिन् । सात महिनाकी गर्भवती रहेको खुलेपछि उनलाई गाउँबाटै गायब बनाइएको आरोप छ । बाबुआमा नभएकी ती बालिका दाजुभाउजूको भरमा थिइन् ।
आफन्तका अनुसार, उनी लामो समयदेखि स्थानीय महेश्वर यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन् । यही क्रममा उनीमाथि शोषण भएको आशंका गरिएको छ ।
प्रहरीमा दर्ता उजुरीमा महेश्वर यादव, उनका छोरा कुन्दन यादव, वडा सदस्य बद्री यादव र धर्मदेव यादवलाई अनुसन्धानको दायरामा ल्याउन माग गरिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरी भने “अनुसन्धान जारी रहेको” दाबी गर्छन् ।
तर, प्रश्न उस्तै छ—बालिका कहाँ छिन् ? दोषी किन बाहिरै छन् ?
अब आन्दोलन चर्किने चेतावनी दिँदै दलित अगुवाहरूले स्पष्ट सन्देश दिएका छन्—यदि छिटो न्याय भएन भने संघर्ष थप कडा हुनेछ ।