रौतहट, १७ चैत ।
रौतहटको पूर्वी भेग गढिमाई नगरपालिका–१, समनपुर बजारस्थित इलाका प्रहरी कार्यालयले झण्डै ५४ वर्षपछि नयाँ स्वरूप पाउने भएको छ। लामो समयदेखि जिर्ण बनेको भवन हटाउँदै आधुनिक संरचना निर्माण सुरु गरिएको हो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यको पहलमा गढिमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले ५१ लाख रुपैयाँ विनियोजन गरेपछि निर्माण कार्य अघि बढेको हो। स्थानीय तहकै लगानीमा प्रहरी भवन बन्नु सकारात्मक अभ्यासका रूपमा हेरिएको छ।
सोमबार आयोजित कार्यक्रममा वडा नं. १ का अध्यक्ष दिपेन्द्र श्रेष्ठ र वडा नं. २ का अध्यक्ष रामपुकार यादवले हिन्दु परम्पराअनुसार पूजा–पाठ गर्दै ८ कोठे भवनको शिलान्यास गरेका थिए। निर्माण सम्पन्न भएपछि प्रहरीको बसोबास र सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ।
डीएसपी आचार्यका अनुसार भवन यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। यसअघि २०२९ सालमा तत्कालीन प्रहरी महानिरीक्षक खडगजित बरालले उद्घाटन गरेको भवन अत्यन्त जिर्ण भइसकेको थियो। छत चुहिने, भित्ताहरू चर्किने जस्ता समस्या झेल्दै प्रहरीले जोखिमपूर्ण अवस्थामै सेवा दिँदै आएको थियो।
प्रजातन्त्र स्थापनापछि जिल्लाका धेरैजसो प्रहरी कार्यालय केन्द्र सरकारको बजेटमा निर्माण भए पनि समनपुर र कटहरियाका भवन भने जग्गा विवादका कारण पछि परेका थिए। कटहरियामा स्थानीय सहयोगमा अस्थायी भवन बने पनि समनपुरमा समस्या झन् जटिल बन्दै गएको थियो।
प्रहरी बसोबासमै जोखिम बढ्दै गएपछि डीएसपी आचार्यले नगरप्रमुखसँग पहल गर्दै बजेट व्यवस्थापन गराएका हुन्। “नागरिकको सुरक्षामा खटिने प्रहरी स्वयं असुरक्षित अवस्थामा बस्न बाध्य हुनुहुँदैन,” उनले बताए।
नगरपालिकाको लगानीमा सुरु भएको यो निर्माणले समनपुर क्षेत्रको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने विश्वास लिइएको छ। साथै, स्थानीय सरकार र सुरक्षाकर्मीबीचको सहकार्यको यो उदाहरणले अन्य स्थानलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ।