वीरगन्ज, २५ चैत ।
वीरगन्ज महानगरपालिकाले जडीबुटी, कबाडी तथा जीवजन्तु कर उठाउने नाममा ठेक्का दिएपछि अहिले सडकमै रंगदारी शैलीमा अवैध असुली भइरहेको खुलासा भएको छ।
चालकहरूको गुनासो अनुसार ठेकेदारका कर्मचारीहरूले भारतीय तथा नेपाली मालवाहक सवारीसाधनबाट नियमविपरीत ४ सयदेखि ७ सय रुपैयाँसम्म असुल गर्दै आएका छन्। रसिदमा कम रकम देखाउने तर व्यवहारमा बढी रकम लिनु, नदिँदा कुटपिटसम्म गर्ने घटना बढेको बताइएको छ।
महानगरपालिकाले गत असार ३० गते कर सङ्कलनको ठेक्का ५ करोड ४ लाखभन्दा बढी रकममा दिएको थियो। तर ठेकेदारले जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका विभिन्न प्रहरी इकाईसँग मिलेमतो गरी अवैध असुली गरिरहेको आरोप लागेको छ।
कानुनअनुसार राजमार्गमा यस्तो कर उठाउन नपाइने व्यवस्था हुँदाहुँदै गण्डक चोकदेखि आईसीपी क्षेत्रसम्मका विभिन्न स्थानमा ढाट राखेर जबर्जस्ती रकम उठाइँदै आएको छ। दररेट सार्वजनिक गर्ने बोर्डसमेत कतै राखिएको छैन।
भारतीय रुपैयाँमै असुली हुने, विरोध गर्दा दुव्र्यवहार र कुटपिट हुने, उजुरी दिँदा पनि कारबाही नहुने अवस्था रहेको चालकहरूको भनाइ छ। केही समयअघि विरोध गर्ने एक ज्येष्ठ नागरिकमाथि समेत हातपात भएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साले भने घटनाबारे जानकारी आएको र सुधार गर्ने दाबी गरेको छ।