रौतहट,२५ चैत ।जनज्योति नमुना माध्यमिक विद्यालय, चन्द्रनिगाहपुरमा बसन्त सापकोटा पूर्णकालीन प्रधानाध्यापकमा नियुक्त भएका छन्। बुधबार विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिले उनलाई पाँच वर्षे कार्यकालका लागि जिम्मेवारी सुम्पिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले सापकोटाको नियुक्ति औपचारिक रूपमा सार्वजनिक गर्दै विद्यालयको नेतृत्वमा उनको अनुभव र समर्पणले संस्थागत सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे। यसअघि सोही विद्यालयमा लामो समयदेखि शिक्षण सेवा दिँदै आएका सापकोटा पछिल्लो समय निमित्त प्रधानाध्यापकका रूपमा कार्यरत थिए।
पूर्व प्रधानाध्यापक देवनारायण मिगौले सरुवा भएर मकवानपुर गएपछि रिक्त भएको पदमा सापकोटालाई पूर्णकालीन जिम्मेवारी दिइएको हो। विद्यालयमा लामो समयदेखि सक्रिय रहँदै आएका सापकोटाले शिक्षण तथा प्रशासनिक दुवै पक्षमा अनुभव हासिल गरिसकेका छन्।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले सापकोटाको कार्यकालमा विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र समग्र व्यवस्थापनमा थप प्रगति गर्ने अपेक्षा व्यक्त गरे। उनले स्थानीय तहको तर्फबाट आवश्यक सहयोग रहने पनि प्रतिबद्धता जनाए।
नव-नियुक्त प्रधानाध्यापक सापकोटाले विद्यालयलाई थप गुणस्तरीय, प्रविधिमैत्री र विद्यार्थी केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालासँग समन्वय गर्दै विद्यालयको समग्र उन्नतिमा काम गर्ने बताए।
स्थानीय समुदायले पनि सापकोटाको नेतृत्वमा विद्यालयले अझ उचाइ हासिल गर्ने अपेक्षा व्यक्त गरेका छन्।