बारा, २७ चैत —
बारा जिल्लामा बढ्दो सवारी दुर्घटनालाई नियन्त्रणमा लिन ट्राफिक प्रहरीले आक्रामक अभियान सुरु गरेको छ। तीव्र सवारी चाप, कमजोर सडक अवस्था र चालक–पैदल यात्रुको लापरवाहीका कारण दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले सचेतना र कडाइ दुबैलाई सँगै अघि बढाएको हो।
ट्राफिक प्रमुख प्रहरी निरीक्षक दिपक केसीका अनुसार दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व हो। तर समाजमा अझै पनि जिम्मेवारी ट्राफिकमै थोपर्ने प्रवृत्तिले अपेक्षित सफलता ढिलाइ भइरहेको उनले बताए।
भारतसँगको खुला सीमाका कारण दक्षिणी बारा अझ जोखिमपूर्ण बनेको छ। सीमाबाट आउने सवारीमा हेल्मेट नलगाउने, कागजात नबोक्ने र लेन मिच्ने प्रवृत्ति बढेपछि ट्राफिकले सीमावर्ती क्षेत्रमा विशेष अभियान चलाएको छ। अभियानकै क्रममा हेल्मेटबिनाका दुई दर्जन चालक कारबाहीमा परेका छन्।
दुर्घटनाको कारणमा चालकको लापरवाही, मापसे, तीव्र गति मात्र होइन, खाल्डाखुल्डी सडक, सडक पेटी अभाव र सडकमै छाडिएका गाईवस्तु पनि जिम्मेवार देखिएको छ। त्यसमाथि पैदल यात्रुको जथाभावी सडक पार गर्ने बानीले जोखिम झनै बढाएको छ।
मापसे नियन्त्रणमा आइसकेपछि अहिले ट्राफिकको ध्यान ‘लापसे’ (लागुपदार्थ सेवन) चालकतर्फ केन्द्रित भएको छ। सप्राइज चेकिङ र विशेष परीक्षणमार्फत यस्तो प्रवृत्ति नियन्त्रण गर्न कडाइ गरिएको ट्राफिक प्रहरीको भनाइ छ।
यसैबीच, ई–रिक्सा सञ्चालनमा पनि ट्राफिकले डण्डा चलाएको छ। लाइसेन्स, दर्ता र तोकिएको क्षेत्रमा मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ।
स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले ट्राफिकको सक्रियतालाई सकारात्मक रूपमा लिएका छन्। हेल्मेटकै कारण दुर्घटनाबाट जोगिएको अनुभव सुनाउँदै स्थानीयले ट्राफिक अभियानको प्रशंसा गरेका छन्।








