बाल बिक्रम कार्की
सामान्य भाषामा कुनैपनि सुचना, जानकारी, घटना, दुर्घटना आदि जानकारी जस्ताको जस्तै विभिन्न सञ्चार माध्यमको मार्फत आम जनतालाई जानकारी दिने व्यक्तिलाई पत्रकार भन्दछौ । अक्फोर्ड डिक्सनरीमा पत्रकार भनेको ‘एक व्यक्ति जो अखबार, पत्रिकाहरु, वा समाचार वेबसाइटहरु को लागी लेख्छ वा प्रसारण को लागी समाचार तयार गर्दछ ’ भनेर भनिएको छ । सामान्यता पत्रकार भनेको तालिम प्राप्त दक्ष व्यक्ति हो जसले शब्द , अडियो , भिज्युवल आदिको रुपमा सुचना संकलन गरेर त्यसलाई समाचार बनाएरप्रकाशण÷प्रशारण गर्दै आम मानिसको लागि सुचना, जानकारी प्रदान गर्दछ । पत्रकारले गर्ने पत्रकार सम्बन्धित कृयाकलापलाई पत्रकारिता भनिन्छ ।
नेपालमा पत्रकारिताको इतिहास हेर्ने हो भने पहिलो पटक सुधासागर साहित्यिक पत्रिकाबाट नेपालको आमसञ्चार र पत्रकारिताको इतिहास सुरू भएको मानिन्छ । जसको प्रकाशन वि सं. १९५५ साउनमा भएको थियो । नेपालको पत्रकारितामा नयाँ मोड राणा प्रधानमन्त्री देवसम्शेरले २४ बैशाख १९५८ बैशाख ू४ गतेबाट प्रकाशन सुरु गरेको गोरखापत्रबाट भयो । वि.सं. २००७ फाल्गुण ८ गते निजी क्षेत्रबाट नेपालको पहिलो दैनिक पत्रिका “आवाज“ प्रकाशित भएको थियो ।
रौतहटको पत्रकारिताको कुरा गर्नुपर्दा विजय किशोर झा, मोहन शर्मा, पुरुषोतम भट्टराई पहिलो पुस्ताको पुराना पत्रकारको रुपमा चिनिन्छन् । उनीहरुले रासस, रेडियो नेपाल हुँदै कान्तिपुरसम्मको लागि पत्रकारिता गरेका थिए । पत्रिकाको कुरा गर्दा जिल्लाबाट प्रकाशन हुँने पत्रिकाहरुमा रौतहट आवाज, नवोदय साप्ताहिक र समाचार साप्ताहिक पुराना पत्रिका मध्ये पर्दछन् । रौतहटमा वि.सं. २०५६ सालमा शिव पुरीको अध्यक्षतामा नेपाल पत्रकार महासंघ गठन भएपछि रौतहटका पत्रकारहरु संगठित भएर पत्रकारिता गर्न थालेका हुन् । त्यो दोस्रो पुस्ताका अधिकासं पत्रकारहरु अझैपनि सक्रिय पत्रकारितामा लागि रहेका छन् ।
२०६२÷६३ को जनआन्दोलन पश्चात देशमा संचार क्षेत्रले ठुलो फड्को मा¥यो । धेरै निजी पत्रिका, एफएम रेडियो, टेलिभिजन र वेभसाइटहरुस्थापना भए । संचारमाध्यमको विकाससँगै पत्रकारहरुको संख्यामा पनि वृद्धि हुँदै गयो । जसको प्रभाव रौतहट जिल्लामा पनि देखिन थाल्यो । जिल्लामा सिमित संख्यामा रहेका पत्रकारहरुको संख्या ह्वातै बढेर गयो । पछिल्ला केही वर्षको आँकलन गर्ने हो भने रौतहटमा पत्रकारहरुको संख्यामा निकै अप्रत्याशित वृद्धि भएको छ । फेसबुक लगायतका सामाजिक सञ्चालको विकास र वेभसाइटको बढ्दो प्रचलनले यो संख्या बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
जिल्लामा पत्रकारको संख्या उल्लेखनिय रुपमा बढेपनि गुणस्तर भने निकै खस्किएको प्रति भने अग्रज पत्रकारहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् । पहिलेको तुलनामा प्रविधिको विकाससँगै पत्रकारिता सहज भएकाले गुणस्तर बढ्नु पर्नेमा घट्दै गइरहेकोमा सबैले चिन्ता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवम् नेपाल पत्रकार महासंघ रौतहट शाखाका संस्थापक अध्यक्ष शिव पुरीको अनुभवमा पहिले पत्रकारको संख्या थोरै हुन्थ्यो तर पत्रकारिता गुणस्तरिय हुने गर्दथ्यो तर अहिले पत्रकारको संख्या धेरै बढेको छ तर पत्रकारिताको गुणस्तर भने निकैनै खस्किएको छ । उनका अनुसार पहिला सुचना संकलन गर्न धौँ धौँ पर्दथ्यो, सुचनामा सरोकारवाल निकायको निरंकुशता हुन्थ्यो तर अहिले सुचनामा सबैको सहज पहुँच छ , पारदर्शीता छ तर समाचारमा खोज छैन् , गुणस्तर छैन् । रौतहटमा पित पत्रकारिता , पार्टी पत्रकारिता, व्यक्तिवादी पत्रकारिता बढ्दै गइरहेकाले पत्रकारिताको भविष्य तथा इज्जत कहा पुग्ला भन्ने उनको चिन्ता छ ।
जिल्लाका पछिल्ला पत्रकारिता हेर्ने हो भने कुनै व्यक्तिको गुणगाण गाउने, खुस उठेकालाई देवत्व, रिस उठेकालाई दानवत्व देखाउँदै समाचार लेख्ने पत्रकारहरु पनि मौलाउँदै गएका छन् । विशेषगरी स्थानिय तहको निर्वाचन भएपछि यो विकृति झनै बढ्दै गइरहेको छ । आफु अनुकुलको जनप्रतिनिधीलाई विकास पुरुषको उपाधि दिदैँ समाचार लेख्नेको होडवाजीजस्तै देखिन्छ जिल्लामा । तर आफु विपरित जनप्रतिनिधीलाई भने हदैसम्म खेदो खन्ने पत्रकारिता पनि जिल्लामा मोलाउँदै गएका छन्् ।
प्रविधिको विकाससँगै जिल्लामा नवयुवा पत्रकारहरुको संख्या पनि क्रमसः बढिरहेको छ । ती मध्ये अधिकासंको पत्रकारिता भनेको कपि पेष्ट हुने गर्दछ । अरु कसैले मेहनत गरेर लेखेको समाचारलाई जस्ताको तस्तै आफुले लेखेको भनेर आफ्नो नाममा प्रकाशन÷प्रशारण गर्ने गरेको पाइन्छ । अरुले लेखेको समाचारलाई सामान्य सम्पादन समेत नगरेर हुबहु आफ्नो नाममा प्रकाशन÷प्रशारण गर्ने पत्रकारहरुबाट पत्रकारिताको गुणस्तर खस्कदै गइरहेको छ ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यको प्रमुख तीन अङ्गमानिन्छन् भने पत्रकारितालाई राज्यको चौथो अङ्गको रुपमा लिइन्छ । यो चौथो अङ्ग मर्यादित, जवाफदेही र उत्तरदायी र जनमुखी हुन जरुरी छ । तर रौतहटको पत्रकारितामा पछिल्लो समयमा निकै विकृति देखा परिरहेको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शैलेन्द्र गुप्ताको भनाइ छ । पत्रकारितामा निष्ठा र निष्पक्षता हुनुपर्नेमा रौतहटको पत्रकारितामा वार्गेनिङ्ग हावी हुँदै गइरहेको उनको अनुभव छ । उनको बुझाइमा आफुलाई पत्रकार भन्ने तर समाचारको ‘स’ पनि लेख्न नआउने पत्रकारहरुबाट रौतहटका वास्तविक पत्रकारहरु पनि बद्नाम हुँदै गइरहेको छन् भने समाजले पत्रकारलाई हेर्ने नजर र दिने इज्जतमा पनि कमि भइरहेको छ । आफुलाई पत्रकार भनेर चिनाउने तर समाचार चाहिँ फेसबुकमा लेख्ने ‘फेसबुककार’ हरुको कारण पनि रौतहटको पत्रकारिता खस्कदै गइरहेको र नागरिकको नजरमा पत्रकारहरु प्रतिको सम्मान पनि गिर्दै गइरहेको छ । यस्ता ‘फेसबुककार’ हरुको काम भनेको अरुको समाचार कपि पेष्ट गरेर आफ्नो फेसबुकको वालमा पेष्ट गर्ने र वार्गेनिङ्ग गर्ने उद्धेश्यले चार लाइन कसैको बारेमा लेख्ने मात्र हो । ‘फलानो हाकिमको भण्डाफोर चाँडै हुँदै’ ‘फलानो नगरपालिकामा भ्रष्ट्रचारको पर्दाफास केहीँ दिनमा’ ‘फलानो नगरपालिको मेयर÷उपमेयर÷जनप्रतिनिधीको कालो कर्तुत चाँडै आउँदैछ , प्रतिक्षा गर्नुहोस्’ जस्ता स्टाटसले उनीहरुको फेसबुकमा आइरहन्छन् । तर उनीहरुले भनेजस्तो केहीँ दिनपछि न कसैको भण्डाफोर हुन्छ न त उनीहरुले कसैको भ्रष्ट्रचारको पोल खोल्छन् बरु उल्टै केही दिनपछि त्यस्ता स्टाटस उनीहरुको वालबाटै गायव हुन्छन् । यस्ता विकृति रौतहटको पत्रकारितामा पछिल्लो समय सामान्य झैँ हुँदै गइरहेको छ । आम मानिसले पनि सामाजिक सञ्जालमा पत्रकारलाई तोकेर गाली गर्नु सामान्य झैँ लाग्न थालेको छ रौतहटमा ।
पत्रकार पनि सामान्य नागरिक हुन् , उनीहरुलाई कुनै विशेष अधिकार हुँदैन् । तर पत्रकारले समाजको लागि खेल्ने महत्वपूर्ण भूमिकाका कारण समाजलेनै उनीहरुलाई विशिष्ट नागरिकको श्रेणीमा राखेर विशेष सम्मान गर्ने गरेको छ । तर रौतहटका केही पत्रकारहरुमा पत्रकार भएपछि आफु सबैभन्दा ठुलो, आफुले भनेको सबैले मान्नुपर्ने , जहाँ पनि जान पाइने, जे पनि गर्न पाइने, नियम कानुनको परिधिभित्र नबसेपनि हुने, जसलाई जे भनेपनि हुने, बिना प्रमाण र आधार जे पनि लेख्न पाइन्छ भन्ने भ्रम चरम रुपमा रहेको देखिएको छ । पत्रकारहरुलाई अरुभन्दा केही विशेष अधिकार र सुविधा होला तर देशको नियम , कानुन र संविधानभन्दा ऊ किमार्थ माथि छैन् । यसै परिधीभित्र रहेको उसले सुचना संकलन गर्ने र समाचार प्रकाशन÷प्रशारण गर्नुपर्ने हुन्छ । पत्रकार भनेका जनता र सरोकारकाला निकायहरुको बीचको पुल हुन् । जनताको समस्या÷गुनासा÷जिज्ञासालाई सरोकारवाला निकाय समक्ष पु¥याएर त्यसको समाधानको लागि पहल गर्ने काम पत्रकारको हो । तर यहाँका केही पत्रकारहरुमा आफै प्रहरी, आफै न्यायधिस बन्ने लहडनै चलेको छ । जसले समग्र पत्रकारितालाईनै हानी पु¥याइरहेको छ ।
जिल्लामा पत्रकारको रुपमा निष्क्षताका साथ कर्तव्य निर्वाह गर्न पछि पर्ने तर पत्रकारको रुपमा अधिकार लिन अघि सर्ने जमात पनि ठुलो मात्रामा छन् । स्थानिय तहमा जब नयाँ वर्ष, दशै तिहार र असार मसान्त आउँछ दर्जनौ पत्रिकाहरु विल सहित पुग्छन् । बजारमा कहिले नदेखिने पत्रिकाहरु ती बेला स्थानिय तहमा देखिन्छन् । स्थानिय तहका जनप्रतिनिधी तथा हाकिमहरुले पनि सबैलाई खुसी राख्ने उद्धेश्यले त्यस्ता सिजनल निस्कने पत्रिकाहरुको पनि विल दामासाहीले भुक्तानी गर्ने गरेको पाइन्छ । यसले गर्दा नियमित निस्कने पत्रिकाहरु र वास्तवीक पत्रकारिता गर्ने पत्रकारहरु मारमा परेका छन् ।
रौतहटको पत्रकारितामा देखिएका तमाम् विकृतिहरुको समाधानको लागि नेपाल पत्रकार महासंघ रौतहटको अग्रणी भूमिका हुनुपर्दछ । पत्रकारिताको आचारसंहिता विपरित कार्य गर्ने जो कोहीलाई पनि कारवाही र अनुशासनको दायरामा ल्याउन महासंघले खुट्टा कमाउनु हुँदैन् । नव पत्रकारहरुलाई पत्रकारिताको तालिमको व्यवस्था गरेर उनीहरुलाई समाचार लेखन सिकाउनुका साथै पत्रकारितको आचारसंहिताको महत्व र पालनामा जोड दिनुपर्छ । कुनै अमुक पत्रकारको गैर पत्रकारिताले गर्दा जिल्लाको समग्र पत्रकारिता बद्नाम हुनु हुँदैन् । तर अहिले बढिरहेको रौतहटको विकृत र अनुशासनहिन पत्रकारितालाई समयमै नियमन र नियन्त्रण नगर्ने हो भने वास्तविक पत्रकारिता गर्ने पत्रकारहरुलाई कसैले तपाई पनि पत्रकार हो भनेर सोध्दा म होइन भनेर मुख लुकाएर हिड्ने दिन नआउला भन्न सकिन्न । अतः यसमा सम्पूर्ण सरोकारवालाको ध्यान जावोस् । पत्रकारिता पेशा सदैव सम्मानित , मर्यादित तथा अनुशासित रहिरहोस् ।