अशोक पहाडी
चन्द्रपुर,१४ मंसिर । रौतहटका बिभिन्न स्थानमा रहेका स मिलका कारण वनमा चोरी तस्करी बढेको स्थानीयको भनाइ रहेको छ ।
पहिला पहिला टायर गाडा ,ट्रेक्टर ,साईकल ,जिपमा हुने गरेको काठको चोरी तस्करी पछिल्लो समय मोटर साईकलमा हुने गरेको छ ।
चन्द्रपुर नगरपालिका वडानं ३ को गैडाटारबाट वन कर्मचारीको सेटिङमा काचा सालका कडी राती राती साईकलमा राखेर चन्द्रनिगाहपुर ल्याएर बिक्रि बितरण हुने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
सो क्षेत्रबाट एक समुहले वनमा काचा सालका रुख काट्ने अर्को समुहले चिरान गरेर कडी बनाउने र फेरी अर्को समुहले साईकलमा हालेर चन्द्रनिगाहपुर सम्म ल्याएर बिक्रि बितरण गर्ने गरेको जनाकारहरुको भनाइ रहेको छ ।
काठ चोरी तस्करी गर्ने गिरोहसंग गैडाटार सहायक वन डिभिजन कार्यालयका कर्मचारीको मिलेमतोमा राष्ट्रिय वनका काटिएका सालका गोलिको चिरान काठ चन्द्रनिगाहपुर बन्दै गरेका नयां घरमा प्रयोग हुने गरेको छ ।
चोचा सेक्टरको वनबाट चोरी तस्करी हुने काठ जिल्लाका दक्षिणी भेगमा सञ्चालित अवैध समिल र फर्निचर उद्योगमा मध्यरातको समयमा काचो सालको गुलिया साइकल र काधमा बोकेर तस्करहरूले ओसार्ने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
वन कर्मचारीको फितलो गस्तीले रौतहटको बलेरी ,चोचा ,मैरा ,कनकपुर,सिमरी क्षेत्रबाट काठको तस्करी हुने गरेको छ । जिल्लाका बिभिन्न स्थानमा रहेका फर्निचर उद्योगमा लगेर काठ बिक्रि बितरण हुदै आएको छ । सोही काठबाट फर्निचर उद्योगले विभिन्न सामग्री बनाइ सीमावर्ती भारतीय बजारसम्म पुगाउने गरेको छ ।
वन कर्मचारीनै संलग्नतामा बलेरी र चोचा क्षेत्रबाट दैनिक दर्जनौ मोटर साईकलमा युवाहरुले काठको चोरी तस्करी गर्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । वन कार्यालयले सहज रुपमा काठ बितरण नगरेका कारण चन्द्रनिगाहपुरमा बन्दै गरेका सयौं घरमा मैरा र गैडाटारबाट चोरी तस्करी गरेर ल्याएको काठ प्रयोग हुंदै आएको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा भरत आचार्यको भनाइ रहेको छ ।
२०७९ मंसिर १३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।