गरुडा,६ माघ ।
रोजगारीका लागि भारतको पन्जाबमा हुँदा हात र खुट्टामा घाउ भयो । बायाँ हातको एउटा औंला र बायाँ खुट्टाको सबै औंला कुहिए । उपचारका लागि पन्जावस्थित अस्पताल गए । घर फर्किएपछि थप उपचारका लागि धनुषाको लालगढस्थित आनन्द वन पुगे ।
केही महिनापछि पूर्णरूपमा ठीक भए । स्वस्थ शरीर लिएर घर गएका रौतहटको परोहा नगरपालिका–५ नमनग्राका ६५ वर्षीय इनरदेव रामलाई कुष्ठरोगी भन्दै सबैले हेला गर्न थाले । गाउँमा बस्नै दिएनन ।
इनरदेव राम अहिले भेडियाहीमा बस्छन । उनको अवस्था कष्टपूर्ण छ । गाउँ जाने प्रयास गरेका उनी दुईपटक निकालामा परिसकेको बताउँछन । अहिले उनी स्वस्थ छन । शरीरको कुनै पनि अंगमा घाउ छैन । त, गाउँमा बस्दा कसैको पनि विवाह नहुने भन्दै उनीमाथि घृणाको दृष्टिले हेर्ने गरिन्छ । रोगले ग्रस्त भएको बेला श्रीमती सुनिता देवीको मृत्यु भयो । ६ वर्षभित्र उनका ४ छोरा र एक छोरीको पनि मृत्यु भयो ।
परिवारका सबै सदस्यको मृत्युपछि उनी थप पीडामा परे । ‘एकातिर कुष्ठरोग अर्कोतिर परिवारका सदस्यको मृत्यु,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा आफन्त र परिवारका सदस्यबाट हेलामा परियो । अझै पनि गाउँमा बस्न मन छ । तर कुष्ठरोगी भनेर कसैले स्विकार्दैनन । म गाउँमा बसे कसैको विवाह हुँदैन रे । मेरो हात र खुट्टाको घाउ निको भइसक्यो । अब गाउँ फर्कन चाहन्छु ।’
इनरदेवका अनुसार २०७० सालतिर दुवै हातखुट्टामा सामान्य फोको आयो । उपचारका लागि भारतको पटना गए । केही समय औषधि सेवनपछि रोग निको भयो । घर आएर केही समयपछि कमाउन पन्जाव गए । त्यहाँ धान काट्ने काम गरे । त्यसको लगत्तै बायाँ औंलामा फेरि सानो फोको आयो । त्यही औषधि गरे । औषधिको असरले रोग झनै बल्झियो । त्यहाँ कुष्ठरोग लागेको प्रमाणित भयो । पन्जावमा उपचारपछि ठीक भएका इनरदेव घर आएका हुन ।
उनी अहिले भेडियाही बजारनजिक झुपडीमा बस्छन । अरुले दिएको खाना खान्छन । उनलाई सहयोग गर्नेहरू पनि भेटिन्छन । तर गाउँ फर्काउन कसैले हिम्मत गर्दैनन । उनको घर भएको ५ नम्बर वडाका अध्यक्ष मोहम्मद सञ्जीव अन्सारीले इनरदेव घर फर्कन चाहे पनि गाउँले नमान्ने बताउँछन । ‘उनलाई गाउँ फर्कन दिऔं भनेर छलफल गरेँ । तर कोही मानेनन्,’ उनले भने, ‘फेरि पहल गर्छु ।’ ३ वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी नरहरि बरालको सक्रियतामा इनरदेवलाई गाउँ लगिएको थियो । एक साताको बसाइपछि छिमेकीले निकाला गरे । भाइ ब्रम्हदेव सकारात्मक भए पनि गाउँलेको अघि बोल्न डराउँछन । ‘समाजले नै स्वीकार्न नसकेपछि मैले केही गर्न सकिनँ,’ उनले भने । गाउँमा इनरदेवको १३ धुर जग्गा छ । उनी त्यही जग्गामा बस्न चाहन्छन ।