बारा,७ भदौ । मकवानपुर र बाराको सिमा नजिक बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार मृतक मध्ये चारजना महिला र तीनजना पुरुष रहेका छन् । यस्तै दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतको राजस्थानका ६७ बर्षका बहादुर सिं, सोही स्थानकी ६५ बर्षीय मिरा देबी रहेका छन् । यसैगरी नेपालको महोत्तरी जिल्लाको लोहार पटीका ४१ बर्षका बिजय लाल पण्डित रहेका छन् । यस्तै पहिचान खुल्न नसकेका अन्य तीनजना महिला र एकजना पुरुषको पनि मृत्यु भएको डिएसपी क्षेत्रीले जानकारी दिए ।
काठमाडौंबाट भारतको मोतिहारी लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आफै अनियन्त्रित भई चुरियामाई भन्दा अन्दाजी एकसय मिटर दक्षिणमा बाटोबाट दश पन्ध्र मिटर तल खोलामा खसेको थियो ।