रौतहट, १२ भदौं । रौतहटको वनमा पछिल्लो समय सुकुम्बासीका नाममा व्यापक अतिक्रमण भइरहेको छ । अतिक्रमण तीव्ररूपमा बढ्दा पनि डिभिजन वन कार्यालय रौतहट देखेको नदेखे झैँ गरेर बसेको छ ।
जिल्लाको जुडीबेला सब वन डिभिजन कार्यालय अन्तर्गतको राष्ट्रिय वन यतिबेला व्यापक रुपमा सुकुम्बासीका नाममा अतिक्रमण भइरहेको छ । जुडीबेला सब वन डिभिजन कार्यालय अन्तर्गतको सानो खरियान भन्ने स्थानमा पछिल्लो समय व्यापक रुपमा राष्ट्रिय वन फडानी गरेर सुकुम्बासीका नाममा बस्ती बसाउने र खेतीयोग्य जमिन बनाउने काम भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
सो वन हेर्ने जिम्मा पाएका सहायक वन अधिकृत अनिल कुमार महत्व सहितका वन कर्मचारीकै मिले महत्वमा सो क्षेत्रमा सुकुम्बासीका नाममा राष्ट्रिय वन अतिक्रमण गर्ने काम बढी रहेको स्थानीयले बताएका छन् ।
सो स्थानका केही टाठाबाठाहरूको संलग्नतामा राष्ट्रिय वनको जग्गा फडानी गरेर बिक्री वितरण गर्ने काम समेत भइरहेको स्थानीयले बताएका छन् । सिन्धुली तथा मकवानपुरका विभिन्न स्थानबाट मान्छेहरू बोलाएर सुकुम्बासीका नाममा सानो खरियान क्षेत्रमा बिगौँ बिघा राष्ट्रिय वन मासेर खेतीयोग्य जमिन बनाउने काम भइरहेको स्थानीयले जानकारी दिए ।
राष्ट्रिय वन नै अतिक्रमण गरेर खेतीयोग्य जमिन बनाउँदा समेत डिभिजन वन कार्यालय रौतहट कानमा तेल हालेर बसेको पाइएको छ । डिभिजन वन कार्यालय रौतहटको विभिन्न स्थानको वन क्षेत्रमा यतिबेला सुकुम्बासीका नाममा राष्ट्रिय वन फडानी गरेर घर टहरा बनाउने र खेतीयोग्य जमिन बनाउने काम भइरहेको बेला त्यसलाई हटाउनुको साटो डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्र भने आफ्नो सरुवा थमौतीका लागि प्रदेश मुकाम जनकपुरमा अखडा जमाएर बसेका छन् ।
डिभिजन वन कार्यालय रौतहटमा मिश्रा सरुवा भएर आएदेखि नै व्यापक रुपमा राष्ट्रिय वनमा हानि नोक्सानी भइरहेको सर्वसाधारणको भनाइ रहेको छ । वृन्दावन र जुडीबेलाको वन क्षेत्र हेर्ने जिम्मा पाएका सहायक वन अधिकृत अनिलकुमार महत्व समेत नियमित रुपमा गस्तीमा नजाने गरेका कारण उनको क्षेत्रमा सबैभन्दा धेरै वनमा हानि नोक्सानी भएको छ । एक स्थानीय बासिन्दाका अनुसार खरियान क्षेत्रमा भएको अतिक्रमणमा वन कर्मचारीकै प्रत्यक्ष संलग्नता रहेको छ ।
डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत बिमलकुमार ठाकुरले सानो खरियान भन्ने स्थानमा राष्ट्रिय वन अतिक्रमण गरेर खेतीयोग्य जमिन बनाएको कुरा आफूहरूले भर्खरै थाहा पाएकाले मङ्गलबार त्यसतर्फ टोली पठाएर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । गाउँलेहरूले सो स्थानमा राष्ट्रिय वनमाशी र खेतीयोग्य जमिन बनाई बिक्री वितरण गरिरहेको कुरा आएपछि आफूहरुले त्यस विषयमा थप अनुसन्धान गरेर सो स्थानमा वन कर्मचारीहरु खटाएको ठाकुरले जानकारी दिए ।
केही समय पहिला सो क्षेत्रको वनमा रहेका काँचा खयरका रुख व्यापक रुपमा कटानी भएको थियो । केही राजनैतिक दलसँग आबद्ध व्यक्तिहरू नै यतिबेला राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमण गर्न लगाएर आफ्नो भाग पनि जमिन लिने र त्यसलाई पछि सुकुम्बासीका नाममा अन्यलाई बेचेर पैसा कमाउने धन्दामा संलग्न रहेको भएपनि वन कार्यालयले त्यसतर्फ कुनै चासो नदिएको पाइएको छ ।
यता जिल्लाको बलेरी क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा पर्ने बागमतीको बगर नै स्थानीय बासिन्दाले अतिक्रमण गरेर खेतीयोग्य जमिन बनाई पछिल्लो समय तीव्र रुपमा बिक्री वितरण गर्दा समेत डिभिजन वन कार्यालय रौतहटले चासो नदिएको वृन्दावनका एक स्थानीय बासिन्दाले जानकारी दिएका छन् । वन कर्मचारीकै मिलो मतोमा पछिल्लो समय राउतहटको राष्ट्रिय वनमा व्यापक रुपमा सुकुम्बासीका नाममा जङ्गल फाडेर घर टहरा बनाउने र खेतीयोग्य जमिन बनाउने काम तीव्र रुपमा भइरहेको छ ।