रौतहट,१७ कार्तिक ।

गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले आजदेखि पालिकामा छठ पर्व गर्ने व्रतालुहरुलाई व्रत सामग्री वितरण गर्न शुरू गरेका छन्।

नगर प्रमुख जयसवालले गरुडा नगरपालिका वडा नं. १ जयनगरबाट अति गरिव र विपन्न परिवारका छठ व्रतालुहरलाई दउरा, सुपली र साडी सेट वितरण गर्न शुरू गरेका हुन ।

छठ व्रतालु महिलाहरुलाई छठका सामग्री वितरण गर्ने कार्यको पहिलो दिन मेयर जयसवालले जयनगरका सयौं व्रतालुलाई साडी र बासका सामग्री वितरण गरेका हुन्।

जयनगर स्थित आज बिहान आयोजित एक कार्यक्रमका बीच मेयर कन्थमनी प्रसाद जयसवालले छठ पर्व गर्ने १ सय ६० जना भन्दा बढी व्रतालुलाई लुगा कपडासहित व्रत सामग्री वितरण गरेका छन् ।

छठ पर्वमा केही सहयोग होस भन्ने उदेश्यले नगरका अति गरिव, दलित र विपन्न परिवारका छठ व्रतालु महिलालाई छठ पर्वमा प्रयोग हुने सामाग्री वितरण गर्ने अभियान शुरू गरेको मेयर जयसवालले बताएका छन्।

पैसाको अभावमा छठ पर्व गर्न कसैलाई समस्या नहोस् र केही राहत होस भन्ने उदेश्यले नै आफूले गरिव परिवारका छठ व्रतालुलाई खोजी खोजी एक एक थान लुगा कपडासहित बाँसबाट बनेको दउरा, सुपलि लगाएतका व्रत सामग्री वितरण गर्न थालेको उनले बताए।

छठ सामग्री वितरण गर्ने अभियानको पहिलो दिन वडा नं. १ मा वितरण गरिएको र यस गरुडा नगरपालिकाको सबै वडामा क्रमसः छठ सामग्री वितरण गर्ने आफ्नो योजना रहेको मेयर जयसवालले बताए ।

उनले आफू मेयरमा निर्वाचित हुनुअघि देखिनै व्रतालुलाई कपडासहित अन्य सामग्री वितरण गर्दै आएकाले अहिले पनि सोही कार्यलाई निरन्तरता दिएको बताए ।