रौतहट,२७ कार्तिक ।सम्बन्धित निकायले बजार अनुगमनका नाममा झारा टार्ने मात्र काम गरेका कारण आम उपभोक्ताहरु मारमा परेका छन् । चन्द्रनिगापुरमा रहेको मुन ड्रप्स नामक पानी उद्योगले वितरण गरेको पानीमा आम उपभोक्ताले फोहोर भेटे पनि सो उद्योगलाई कसैले कारबाही गर्न सकेको छैन ।
आइतबार चन्द्रनिगाहपुरमा रहेको एक किराना पसलमा एक ग्राहकले पानी किन्ने क्रममा किनेको पानीमा लेदो फेला परेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको नर्मदा जेनरल स्टोर्समा स्थानीय सञ्चारकर्मी सुब्बा कार्कीले पानी किन्दा पसल सञ्चालकले दिएको मूल ड्रप्सको पानीमा लेदो नै लेदो फेला परेको हो ।
यसभन्दा पहिला समेत मुनड्रप्सको पानीमा फोहोर फेला परेको समाचारहरू सार्वजनिक हुँदा समेत सम्बन्धित निकायले सो उद्योगलाई चेतावनी दिने काम समेत नगरेको भन्दै उपभोक्ताले आक्रोश व्यक्त गरेका छन् ।
गुणस्तरहीन पानी बजारमा पुर्‍याउने उक्त कम्पनीलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीय सञ्चारकर्मी तथा स्थानीय बासिन्दा सुब्बा कार्कीको भनाइ रहेको छ ।
मुन ड्रप्स मात्र नभएर अन्य कम्पनीका पानीहरू समेत गुणस्तरहीन र फोहोरयुक्त पानी बजारमा छ्यापछ्याप्ती फेला पर्दा समेत सम्बन्धित निकायले कारबाही नगरेका कारण गल्ती गर्नेहरूको संख्या बढ्दै जान थालेको स्थानीय उपभोक्ताहरुको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाले वर्षको एकपटक दशैं तिहारका बेला बजार अनुगमन गरेर झारा टार्ने काम गरेको र अन्य समय कानमा तेल हालेर बस्ने गरेका कारण आम उपभोक्ताहरु मारमा पर्दै आएका छन् ।
तिहारको बेला चन्द्रपुर नगरपालिकाले बजार अनुगमनका नाममा केही रकम खर्च गरेको भएपनि त्यो प्रभावकारी हुन सकेन ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र चन्द्रनिगाहपुरमा नियमित रूपमा बजार अनुगमन नहुँदा त्यसको प्रत्यक्ष मारमा आम उपभोक्ता परेको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन् । बजार अनुगमनको ठेक्का पाएको चन्द्रपुर नगरपालिकाले समेत चाडबाडका बेला वर्षको एकपटक बजार अनुगमन गरेजस्तो गरेर भत्ता पचाउने काम मात्र गरेको स्थानीयको गुनासो छ ।
चन्द्रनिगाहपुर र यसका आसपासमा नियमित रूपमा बजार अनुगमन नहुँदा दैनिक उपभोग्य वस्तुमा आम उपभोक्ताहरु ठगिँदै आएका छन् ।
चन्द्रपुर नगरपालिकाले वर्षमा एकपटक बजार अनुगमनका लागि बजेट नै विनियोजन गर्ने र त्यही बजेट सक्नका लागि वर्षमा एकपटक बजार अनुगमन गरेजस्तो गर्ने गरेको भन्दै आम उपभोक्ताले त्यसको चर्को आलोचना गरेका छन् ।
चन्द्रपुर नगरपालिकाले गएको तिहारका बेला गरेको बजार अनुगमनका बेला चन्द्रनिगाहपुरमा रहेको लक्ष्मी पाउरोटी उद्योगमा खानै नहुने पाउरोटी बनाइएको अवस्थामा फेला परेको भए पनि सो उद्योगलाई भने कुनै कारबाही गरेको थिएन ।
आम उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष रूपमा खेलबाड गर्ने यस्ता उद्योगहरूलाई नगरपालिकाले कारबाही नगरेका कारण उनीहरूको मनोमानी बढ्दै गएको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा राजेन्द्र तिवारीको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिका मात्र नभएर जिल्लाका अधिकांश पालिकाहरूले नियमित रुपमा बजार अनुगमन नगरेका कारण आम उपभोक्ताहरू दैनिक उपभोग्य वस्तुको खरिदमा ठगिँदै आएका छन् ।
रौतहटको बजारमा म्याद गुज्रेका दैनिक उपभोग्य वस्तुको खुलेआम बिक्री वितरण हुँदै आएको भएपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।