चन्द्रपुर,३ पुस । रौतहटको माधव नारायण नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतको समाचार प्रकाशन हुन नपाउँदै हटाइएको छ । रौतहट अनलाइन नामक न्युज पोर्टलले सो नगरपालिकाका कार्यकारी अधिकृत श्रीदेव यादवको भ्रष्टाचार सम्बन्धी समाचार प्रकाशन गरेको थियो । सेनेटरी प्याड खरिदमा प्रमुख कार्यकारी अधिकृतले आर्थिक अनियमितता गरेको विषयमा समाचार प्रकाशन भएको केही समय पछाडि नै हटाइएको थियो ।
सो नगरपालिकामा यादव गएदेखि नै चरम व्यथिति बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको समेत समाचारमा उल्लेख गरिएको थियो । समाचार अनलाईन न्युज पोर्टलमा प्रकानशन गरेर हटाउन नमिल्ने नियम रहेको भएपनि सो अनलाईनले समाचार हटाएर प्रेस काउन्सिलको नियमको धज्जी उडाएको छ ।
सो अनलाइनमा प्रकाशन भएको समाचार प्रमुख कार्यकारी अधिकृत यादवले हटाउन लगाएको र हटाएबापत अनलाइन सञ्चालकलाई मोटो रकम नजराना बापत बुझाएको अनुमान रौतहटका सञ्चारकर्मीले गरेका छन् ।
सो अनलाइनले प्रकाशन गरेको समाचार यस प्रकार रहेको थियो । पढनुस् जस्ताको तस्तै । रौतहटको माधव नारायण नगरपालिकाले ७० लाखको औषधि र सेनेटरी प्याड गोप्य रुपमा खरिद गरेको छ । प्रमुख प्रशासकिय अधिकृत श्री देव यादवले गोप्य रुपमा सूचना प्रकाशन गरेर आपुर्ती गरेको कार्यालयकै कर्मचारी बताउँछन् ।
औषधि तथा सेनेटरी प्याड बारे जिन्सी शाखा सङ समेत कुनै समन्वय नगरी प्रमुख प्रशासकिय अधिकृत यादवले एकलौटी रुपमा कमिशनको चलखेलमा गुणस्तरहिन औषधि तथा कमसल सेनेटरी प्याड आपूर्ति गरेका छन । आपूर्तिकर्ताले ६०% कमिशन दिएको चर्चा छ । गुणस्तरीय औषधि तथा सेनेटरी प्याड आपूर्ति बापत कमिशन नआउने गरेका कारण इबिडिङ मार्फत खरिद नगरेको आरोप वडा अध्यक्षहरुको छ ।
गोप्य रुपमा रौतहटमा आउदै न आउने, बजारमा कहिले काहीँ देखा पर्ने सिटि पोस्ट पत्रीकामा प्रमुख प्रशासकिय अधिकृत यादवले सूचना निकाल्न लगाएर औषधि तथा सेनेटरी प्याड आपूर्ति गरेको भन्दै अख्तियर दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
एक वडा अध्यक्षका अनुसार कमिशन नआउने कुनै पनि काम प्रमुख प्रशासकिय अधिकृत् यादवले नगर्ने गरेको, दैनिक प्रशासनिक कार्य समेत गर्न आनाकानी गर्ने गरेको बताउँछन् । माधव नारायण नगरपालिकामा श्री देव यादव आए देखि कमिशन आउने कार्य मात्र हुने गरेको, ५०% भन्दा कम कमिशन आउने कागजमा प्रमुख प्रशासकिय अधिकृत यादवको कलम नचल्ने गरेको आरोप पिडितको छ । यसबारे प्रमुख प्रशासकिय अधिकृत यादव सङ सम्पर्क गर्दा फोन लागेन ।