रौतहटको चन्द्रपुर नगरपालिकाका व्यवसायी ,समाजसेवी तथा सहकारी अभियान्ता हुन् वसन्त आचार्य । दिन दुखीका लागि चन्द्रपुर नगर क्षेत्रमा रगतको आवश्यकता परेको खण्डमा सम्झने नाम हो बसन्त आचार्य । रक्तदातासँग समन्वय गरी पीडित र दिनदुखीका लागि रगत उपलब्ध गराउदै आएका आचार्य विभिन्न संघसंस्थामा आबद्ध रहेर सामाजिक काममा जुटेका छन् । उनी एक कुशल सहकारी अभियान्तासमेत हुन् । पछिल्लो समय शैक्षिक गतिविधिमा समेत संलग्न रहंदै आएका आचार्य साहित्यमा रुचि राख्ने एक कुशल गीतकार समेत हुन् । उनले रचना गरेका गीतहरू नेपालकै चर्चित गायकहरुले गाएका छन् । उनै आचार्यसँग तराई एक्सप्रेस दैनिकले विभिन्न समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश प्रकाशन गरिएको छ ।
नमस्कार बसन्तजी, स्वागत छ तपाईंलाई । सुरुमा, तपाईंको सामाजिक र व्यावसायिक यात्राबारे छोटकरीमा बताइदिनुहोस् न ? ।
बसन्त आचार्यस् नमस्कार, धन्यवाद । म मूलतः रौतहट जिल्लाको चन्द्रपुर ७ बनबहुअरीमा जन्मिएको हुँ, वि सं । २०३१ सालमा । लामो समयदेखि चन्द्रनिगाहपुरमा बसेर समाजसेवा, सहकारी र शैक्षिक क्षेत्रमा सक्रिय छु । हाल म चन्द्रपुर एकेडेमीको अध्यक्ष, चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको सचिव, रेडक्रस चन्द्रपुरको कार्यसमिति सदस्य र आकस्मिक रक्तसञ्चार समूहको संयोजकको रूपमा काम गरिरहेको छु ।
तपाईं धेरै संगठनमा नेतृत्व भूमिका निभाइरहनु भएको छ, यो सबै कसरी सम्भव भयो ?
म जहिले पनि “सेवा नै धर्म हो” भन्ने मान्यतामा विश्वास गर्छु । जुनसुकै जिम्मेवारी आए पनि इमानदारी र निष्ठाका साथ काम गरेमा विश्वास बढ्छ र अवसरहरू पनि आउँछन् । समाजले दिएको विश्वासलाई मैले कर्मबाट जवाफ दिने प्रयास गरिरहेको छु ।
तपाईंको साहित्यिक रुचिको पनि चर्चा भइरहेको छ। यो यात्रा कसरी सुरु भयो ?
साहित्यप्रतिको मेरो मोह बाल्यकालदेखि नै थियो । गीत लेख्न मन पथ्र्यो । समयसँगै केही रचना तयार भए । तीमध्ये तीनवटा गीत नेपालका ख्यातिप्राप्त गायकहरू — आनन्द कार्की, राजेश पायल राई, र प्रमोद खरेल — को स्वरमा बजारमा आएका छन् । यो मेरो लागि निकै ठूलो प्रेरणा हो ।
गीतहरू कुन शैलीका थिएरु र, भविष्यमा पनि रचना ल्याउने योजना छ ?
गीतहरू प्रायः सामाजिक भावना र मानविय सम्बन्धमा आधारित छन् । एकातिर लोक भाव छ भने अर्कातिर आधुनिक शैली पनि समेट्ने कोशिस गरेको छु । भविष्यमा अझ परिष्कृत र सशक्त गीतहरू ल्याउने योजना छ ।
चन्द्रपुर क्षेत्रमा तपाईंको योगदानलाई कसरी हेर्नुहुन्छ ?
म आफूलाई चन्द्रपुरको एउटा जिम्मेवार नागरिक मान्दछु । मेरो प्रयास जहिले पनि समुदायको हितमा हुने गर्दछ । चाहे त्यो रक्तदान कार्यक्रम होस्, शिक्षा प्रवद्र्धन होस् वा सहकारी विकास, म सधैं अग्रसर रहने कोशिश गर्दछु ।
समाजसेवाबाट तपाईंलाई कस्तो सन्तोष मिल्छ ?
साँचो सन्तोष त पीडामा परेका व्यक्तिले सहयोग पाएर हर्षित भएको अनुहार देख्दा मिल्छ । समाजले केही दिएको छ, म त्यसको फिर्ता समाजलाई सेवा गरेर गर्न चाहन्छु ।
अन्त्यमा, युवापुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
समय र क्षमताको सही उपयोग गर्नुपर्छ । सधैं सकारात्मक सोच राखौं, निष्ठा र मिहिनेतले जुनसुकै क्षेत्रमा सफलता मिल्न सक्छ । समाजलाई केही दिन सक्ने उद्देश्य राखौं । म जुन जुन स्थानमा सक्रिय छु सो सक्रियता मेरो कुनै स्वार्थ छैन नितान्त यो सेवाको रुपमा लिएकोछु यो समाजको लागी गरिव दुखीको लागी अन्यायमा परेका लागी हो
अर्को सेवा कुनैपनी बिरामी वा ब्यक्ति दयियम नपाएर अकालमा ज्यान नजावस भन्नेमा दिन होस चाहे रातमा समेत बिरामीको आफन्तले उपलब्धताको लागी अनुरोध गर्दा रातीको समय नभनी रक्तदाता सँग सम्पर्क गरि दयियम को ब्यबस्थापन गर्दा जीवनको महत्त्वपूर्ण कार्य गर्न सफल भएको अनुभुती हुदोरहेछ ! आफ्नो शरीरले उमेरले साथ दिएसम्म यो सेवामा समर्पित हुने चाहना रहेको छ ! आगामी दिनहरूमा यै समाजको हकहितको लागी सक्रिय रहने !
यो प्रेरणादायी कुराकानीको लागि धन्यवाद, बसन्तजी । तपाईंको आगामी योजनामा शुभकामना ?
धेरै धेरै धन्यवाद ।








