चन्द्रपुर,२१ जेठ ।
पशुमा देखिने संक्रामक खोरेत रोग नियन्त्रण तथा स्वास्थ्य प्रवर्धनका लागि चन्द्रपुर नगरपालिकामा दर्ता भएका पशु फार्महरूलाई निःशुल्क जैविक सुरक्षा सामग्री र पोषणयुक्त आहार वितरण गरिएको छ ।
चन्द्रपुरमा रहेको पशुसेवा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा “विशेष जोनिङ एन्ड कमपार्टमेन्ट लाइजेसन” अन्तर्गत सूचीकृत फार्महरूलाई जैविक सुरक्षाका सामग्रीहरू जस्तै कीटाणुनाशक, पोषणयुक्त पशु आहार समेत वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी चन्द्रपुर नगरपालिकाका कार्यपालिका सदस्य नेत्र कुशवारले किसानको समस्याप्रति नगरपालिका सँधै जिम्मेवार रहेको बताए । “कृषकहरूको जीवनस्तर सुधार गर्न तथा उनीहरूलाई आत्मनिर्भर बनाउन हामी निरन्तर लागि पर्नेछौं,” कुशवारले भने ।
पशुसेवा कार्यालयका प्रमुख डा. सुवोल चौधरीले वितरण गरिएका सामग्रीहरूको प्रयोग विधि र आवश्यकताबारे उपस्थित किसानहरूलाई जानकारी गराएका थिए । उनले पशुपालकहरूलाई जैविक सुरक्षा र पोषण दुबै पक्षमा सजग हुन सुझाव दिँदै भने, “पशुको उत्पादन क्षमता वृद्धिका लागि रोग नियन्त्रणसँगै सन्तुलित आहार पनि उत्तिकै आवश्यक हुन्छ । ”
चन्द्रपुर नगरपालिकामा दर्ता भएका दर्जनौँ पशु फार्महरूले यस कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएको कार्यालयले जनाएको छ । सहभागी किसानहरूले यस्ता कार्यक्रमले उनीहरूको व्यवसायमा थप उत्साह र भरोसा दिएको प्रतिक्रिया दिएका छन् । २०८२ जेठ २१ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।