मुलुकका विभिन्न ठाउँमा नेतृत्वको नाममा चर्चा चलिरहँदा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१ का वडाध्यक्ष बलराम राउत नितान्त फरक र उदाहरणीय पात्रका रूपमा उभिएका छन् । सेवा, समर्पण र सशक्त नेतृत्वका प्रतीकका रूपमा उदाएका राउत स्थानीय विकासका निम्ति समर्पित व्यक्तित्व हुन् ।

२०३१ साल माघ १६ गते उदयपुर जिल्लामा जन्मिएका बलराम राउत नेपाली सेनाबाट सह–सेनानीको पदमा अवकाश प्राप्त गरेपछि देशसेवा मात्र होइन, समाजसेवामा पनि होमिए । राष्ट्र सेवामा बितेको अनुशासन र लगनशीलताको अनुभव उनले अहिले स्थानीय नेतृत्वमा पनि जीवन्त रूपमा उतारिरहेका छन् ।

सेना जीवनबाट समाजसेवातर्फ

राउतको जीवनीको एउटा विशेष अध्याय नेपाली सेनामा बितेको सेवा जीवन हो । अनुशासन, कर्तव्यनिष्ठा र नेतृत्व क्षमताको विकास सेनामा हुँदा नै भयो । सेवानिवृत्तिपछि उनले “अब आफ्नै ठाउँको सेवा गर्छु” भन्ने संकल्प लिए र चन्द्रपुर नगरपालिका–१ मा सामाजिक अभियानमा लागे । यही संकल्पले उनलाई स्थानीय तहको निर्वाचनमा उतार्यो, जहाँ उनी वडाध्यक्षमा निर्वाचित भए ।

पानीको सुविधा, किसानका हितमा

वडाध्यक्ष बलराम राउतले नेतृत्व सम्हालेपछि सिँचाइको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखे । वर्षौं देखिको मौसमी पानीमा निर्भर रहेका कृषकका खेतहरूमा अब वर्षैभरि पानीको सुनिश्चितता छ । उनले वडाभरि डिप बोरिङ गराएर कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराए । यसबाट वडाका किसानहरू दोहोरो–तेहोरो फाइदा उठाउँदैछन् । सिँचाइको सुविधा विस्तारसँगै उत्पादनमा बृद्धि भएको छ भने वडावासीको आत्मनिर्भरता पनि बढेको छ ।

शिक्षामा नमुना वडा

शिक्षा क्षेत्रको सुधार बलराम राउतको अर्को मुख्य उपलब्धि हो । वडाभित्रका सामुदायिक विद्यालयहरूमा भौतिक संरचनाको विकास, पुस्तकालयको स्थापना, विज्ञान प्रयोगशाला, स्कुल बसको सुविधा र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालनजस्ता पहलले वडालाई शैक्षिक रूपमै अब्बल बनाएको छ । वडाध्यक्ष राउतको नेतृत्वमा विद्यालयहरूलाई वातावरणमैत्री बनाइएको छ, जहाँ विद्यार्थीहरू स्वस्थ, स्वच्छ र प्रेरणादायी वातावरणमा अध्ययनरत छन् ।

विद्यालयमा बच्चाहरूको आकर्षण बढाउन उनले ‘स्मार्ट लर्निङ’ प्रणाली ल्याउने, शैक्षिक सामग्रीको पहुँच सुधार्ने, शिक्षक अभिभावक समन्वय समिति सशक्त बनाउने काम गरे । यसैको परिणाम हो, हाल चन्द्रपुर–१ का सामुदायिक विद्यालयहरू निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा पुगेका छन् ।

पर्यटन प्रवर्द्धन र धार्मिक क्षेत्रको संरक्षण

बलराम राउतको दृष्टि केवल शहरी विकासमै सीमित छैन । उनले वडामा रहेका धार्मिक र ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिएका छन् । नुनथर, पौराइ ब्रह्म स्थान, गोल्मेराजा बौद्ध बिहार, गुम्मा मठ मन्दिर लगायतका पर्यटकीय स्थलहरूलाई संरक्षण गर्दै त्यसको विकासमा सक्रिय छन् ।

यसका साथै पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार तयार पार्न उनले नुनथर जाने सडक निर्माण, मठ मन्दिरमा जाने बाटो सुधार, तथा सूचना पाटी राख्ने जस्ता काम थालेका छन् । उनले पर्यटनलाई आर्थिक विकाससँग जोड्ने उद्देश्यले स्थानिय उत्पादन र हस्तकलालाई पनि प्राथमिकतामा राखेका छन् ।

भौतिक पूर्वाधार विकास

वडाध्यक्षको कार्यकालमा चन्द्रपुर–१ को भौतिक रूपान्तरण झनै तीव्र भयो । नुनथर पुग्ने बाटोको स्तरोन्नति, दोभान टोलको सडक कालोपत्र, सिङ्जाली टोलमा ढलान, कृषि सडकको मर्मत–सम्भार जस्ता कामले वडा समृद्धिको बाटोमा अघि बढिरहेको छ । सडक नाला, ढल, पार्किङ, बत्ती लगायतका विकास निर्माणले जनजीवन सहज बनाएको छ ।

अनेकौं विकास परियोजना कार्यान्वयन गर्दा पनि पारदर्शिता, जनसहभागिता र गुणस्तरमा सम्झौता नगर्ने उनको विशेषता हो । उनी स्वयं निर्माणस्थलमा पुगेर अनुगमन गर्ने र कामको गुणस्तर हेर्ने गर्छन् ।

बाढी नियन्त्रणमा तटबन्ध निर्माण

वडाध्यक्ष बलराम राउतको साहसी निर्णयमध्ये बागमती नदीमा तटबन्ध निर्माण पनि एक हो । प्रत्येक वर्ष बाढीले जनधनको क्षति हुँदै आएको समस्या समाधानका लागि उनले तटबन्धको काम अघि बढाए । यो कामले वडाका सयौं घरपरिवारलाई सुरक्षित बनाएको छ । यद्यपि केही स्थानीयले यसको विरोध गरेका छन्, तर राउतको भनाइ छ— “यो काम जनहितका लागि गरिएको हो, व्यक्तिगत स्वार्थका कारण यसको आलोचना हुनु दुर्भाग्यपूर्ण हो ।”

उनका अनुसार बागमतीले वर्षेनी गरिरहेको कटान, बाढी तथा बस्ती जोखिमलाई अन्त्य गर्नका निम्ति तटबन्ध अपरिहार्य थियो । अहिले बाढी नियन्त्रणमा आएको र बस्ती सुरक्षीत बनेकोमा स्थानीय बासिन्दा सन्तुष्ट छन् ।

नेतृत्वको शैलीः सबैलाई साथ लिएर

बलराम राउतको नेतृत्व शैली समावेशी छ । उनले सबै टोल, जात, धर्म र वर्गका नागरिकलाई समान रूपमा हेर्छन् । वडा विकास समितिमा सबै क्षेत्रका प्रतिनिधिलाई समावेश गरेर योजनाको निर्माण, कार्यान्वयन र अनुगमन गर्छन् । उनका अनुसार “विकास जनताको साथ र सुझावबिनाको सम्भव छैन ।”

स्थानीय युवालाई स्वरोजगार बनाउने, महिला समूहको क्षमता विकास गर्ने, अपाङ्गता भएका व्यक्तिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि उनले प्राथमिकता दिएका छन् । यसले उनको नेतृत्वलाई अझै लोकप्रिय बनाएको छ ।

वडाध्यक्ष बलराम राउत केवल जनप्रतिनिधि होइनन्, उनी वडाको समृद्ध भविष्य निर्माणका अभियन्ता हुन् । सेनाबाट सेवानिवृत्त भएर समाज सेवामा होमिएका राउतको सोच, संकल्प र सिर्जनशीलता वडामा मात्र सीमित छैन, यसले चन्द्रपुर नगरपालिकाको समग्र विकासको खाका पनि कोरेको छ ।

निरन्तर सुधारको भावना, स्पष्ट दृष्टिकोण र निष्कलंक छविका साथ उनी साँचिकै एक आदर्श स्थानीय नेता हुन् । बलराम राउतजस्ता जनप्रतिनिधिको नेतृत्व देशका सबै वडामा भए भने समृद्धि टाढाको कुरा हुने थिएन ।