रौतहट । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन भएमा रौतहट क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका युवा नेता अब्दुस मिया उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ । पार्टी स्रोतका अनुसार मियालाई सो क्षेत्रबाट चुनावी मैदानमा उतार्ने विषयमा एमालेभित्र आन्तरिक छलफल तीव्र बनेको छ ।
एमालेका एक नेताका अनुसार रौतहट क्षेत्र नम्बर ४ बाट मियाको नाम सिफारिस गरेर केन्द्रमा पठाउने तयारी भइरहेको छ । स्थानीय तहदेखि जिल्ला तहसम्मका कार्यकर्ता र नेताहरूले मियाको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् । विशेषगरी युवाहरू माझ मियाको लोकप्रियता उल्लेखनीय रहेको बताइन्छ ।
अब्दुस मिया यसअघि गोरखा क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध चुनाव लडेपछि राष्ट्रियस्तरमै चर्चामा आएका युवा नेता हुन् । शक्तिशाली नेताविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएर राजनीतिक साहस देखाएको भन्दै मियालाई एमालेभित्र उदाउँदो नेताका रूपमा हेरिँदै आएको छ ।
रौतहट–४ मा एमालेको संगठन सुदृढ बनाउने, युवालाई राजनीतिमा सक्रिय बनाउने र वैकल्पिक नेतृत्व अघि सार्ने रणनीतिअन्तर्गत मियालाई उम्मेदवार बनाउने तयारी भइरहेको स्रोतको दाबी छ । स्थानीयस्तरमा विकास, रोजगारी, शिक्षा र कृषि क्षेत्रका मुद्दामा मियाले निरन्तर आवाज उठाउँदै आएका कारण पनि उनको उम्मेदवारीले गति पाउने नेताहरूको बुझाइ छ ।
यद्यपि एमालेले औपचारिक रूपमा उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छैन । तर पार्टीभित्रको आन्तरिक तयारी र छलफलले अब्दुस मियाको उम्मेदवारी लगभग तयजस्तै रहेको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।
आगामी निर्वाचनलाई मध्यनजर गर्दै रौतहट–४ मा अन्य दलका गतिविधिहरू पनि बढ्दै गएका छन् । यस्तो अवस्थामा एमालेले युवा र चर्चित अनुहारलाई अघि सारेर चुनावी प्रतिस्पर्धामा बलियो उपस्थिति जनाउने रणनीति अपनाएको विश्लेषकहरू बताउँछन् ।
फागुन २१ गते निर्वाचन हुने औपचारिक घोषणा भएसँगै रौतहट–४ को राजनीतिक सरगर्मी थप चर्किने देखिन्छ । अब्दुस मियाको उम्मेदवारीले उक्त क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ ।