रौतहट,१७ पुस — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ बाट सञ्चारकर्मी गोविन्द चौलागाईं पनि उम्मेदवार बन्ने भएका छन्। उज्यालो पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका चौलागाईं रौतहट–४ बाट उम्मेदवार हुने लगभग पक्का–पक्की भएको विश्वस्त स्रोतले जनाएको छ।
स्रोतका अनुसार चौलागाईं घण्टी छापबाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। दलहरूबीचको भागबण्डा मिलाउने क्रममा रौतहट–४ क्षेत्र चौलागाईंका लागि सुरक्षित गरिने र यसमा कुलमान घिसिङको भूमिका रहने बताइएको छ।
पछिल्लो समय सञ्चारकर्मी चौलागाईं रौतहट क्षेत्र नम्बर ४ मा निरन्तर सक्रिय देखिँदै आएका छन्। विभिन्न सामाजिक, राजनीतिक तथा स्थानीय कार्यक्रममा उनको उपस्थितिले उम्मेदवारीको तयारीलाई थप बल पुगेको स्थानीय विश्लेषकहरूको भनाइ छ।
यद्यपि उम्मेदवारीको औपचारिक घोषणा भने पार्टीले आगामी दिनमा गर्ने बताइएको छ। रौतहट–४ मा चौलागाईंको सम्भावित उम्मेदवारीले चुनावी सरगर्मी थप बढ्ने अनुमान गरिएको छ।








