रौतहट, ६ फागुन।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै रौतहटमा जंगलराज चल्न नदिने कडा चेतावनी दिएका छन्।
रौतहट–३ का उम्मेदवार समेत रहेका साहले मर्यादपुरमा आयोजित चुनावी सभामा बोलेका थिए। उनले रास्वपाका कार्यकर्ताले पछिल्ला दुई दिनदेखि चुनावी कार्यक्रम लक्षित गर्दै देखाएको हुलहुज्जत, गालीगलौज र अस्वभाविक उद्दण्डताप्रति आक्रोश व्यक्त गरे।
साहले आरोप लगाए, “हिजो महम्मदपुरमा घण्टी छापका नाममा गरिएको हर्कत निन्दनीय छ। यही हो तपाईंहरूको सुशासन? अर्को पार्टीको कार्यक्रममा हुलदंगा गर्न निर्देशन दिएको हो? यो त जंगलराज हो।”
साहले रास्वपाका नेताहरुलाई लक्षित गर्दै विकासको प्रश्न आफूलाई होइन, केपी शर्मा ओलीको पाउ परेर पटक–पटक सत्तामा पुगेका रवि लामिछानेलाई सोध्न पनि चुनौती दिए।
उनका शब्दमा, “विकास नभएको जवाफ मसँग किन? विपक्षमा बसेर जनताको पक्षमा उभिएको म हुँ। ओलीसँग मिलेर पटक–पटक सत्ता भोग गर्नेहरूले जवाफ देऊ, अलिकति नैतिकता छ भने।”
आजपा अध्यक्ष साहले चुनावी कार्यक्रम विथोल्ने र सामाजिक उपद्रो गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल गिरफ्तार गर्न सुशीला सरकारसँग माग गरे। उनले चेतावनी दिए,
“कानूनी शासन छ भने दोषीमाथि कारबाही होस्, नभए यहाँका जनताले स्वयं प्रतिकार गर्न बाध्य हुनेछन्।”