रौतहट,९ फागुन । भूमि समस्या समाधान आयोगकी केन्द्रीय सदस्य आरती भण्डारी ले प्रतिनिधि सभा चुनाव नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरूले भूमिहीन तथा सुकुम्बासी व्यवस्थापनसम्बन्धी गरेका आश्वासनहरू “गफ” मात्र भएको टिप्पणी गर्दै आफूहरूले भने व्यवहारिक कामको तयारी पूरा गरिसकेको बताएकी छिन्। उनका अनुसार पछिल्ला दिनहरूमा चुनावी हितका लागि विभिन्न दलहरूले लालपुर्जा वितरण गर्ने घोषणा गर्दै हिँडेको देखिए पनि वास्तविक प्रक्रिया आयोगकै पहलमा छिट्टै अघि बढ्नेछ।
सनिवार , आयोगका रौतहट जिल्ला अध्यक्ष चौधरी सँगै वृन्दावन नगरपालिका–स्थित बलेरी टोलको सुकुम्बासी बस्तीमा पुगेकी भण्डारीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै दीर्घकालीन समाधानका लागि आयोगले गर्ने काम, वर्तमान प्रगति र आगामी योजनाबारे विस्तृत जानकारी गराइन्।
भण्डारी र चौधरी दुवैले सुकुम्बासी तथा भूमिहीन परिवारको तथ्यांक संकलन, आवास क्षेत्र र उपयोगशिल जनघनत्वको मूल्याङ्कन, बसोबासको स्थायित्व जाँच लगायतका काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै चुनाव सकिनेबित्तिकै ५०० परिवारलाई भूमि तथा आधारभूत सेवासम्बन्धी वितरण प्रक्रिया सुरु गर्ने स्पष्ट प्रतिवद्धता जनाए।
बलेरी टोलस्थित गाउँसभामा उपस्थित सुकुम्बासीहरूले वर्षौंदेखि विभिन्न सरकार र दलहरूले आश्वासन दिए पनि स्थायी समाधान नपाएको गुनासो सुनाउँदै आयोगको हालको सक्रियता प्रति आशा व्यक्त गरे। स्थानीयहरूका यी आवाजलाई सम्बोधन गर्दै भण्डारीले, “हामीले चारैतिरबाट आएका टिप्पणी वा वाचा सुनेका छौँ। तर हामी प्रचार होइन, काममा विश्वास गर्छौँ। लालपुर्जा वितरण आयोगकै जिम्मेवारी हो र यसलाई कसैले राजनीति गर्ने विषय बनाउनु हुँदैन,” भन्दै आश्वस्त पारिन्।
यता, चौधरीले रौतहटमा सुकुम्बासीका समस्याहरू ऐतिहासिक रूपमा जटिल रहे पनि आयोगले चालु कार्यकालमै महत्वपूर्ण प्रगति गरेको दाबी गरे। उनका अनुसार, भूमिहीन पहिचान र जग्गा वर्गीकरणको काम प्राविधिक रूपमा पूरा भएपछिको चरण वितरणको हो, र यो काम चुनावपछि शीघ्र रूपमा कार्यान्वयन हुनेछ।
यही कार्यक्रमका क्रममा भण्डारी र चौधरीले स्थानीय सुकुम्बासी बासिन्दालाई एमालेका रौतहट–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी शाह लाई समर्थन गर्न आग्रह गरे। उहाँका अनुसार शाह स्वयं भूमिहीन तथा पिछडिएका समुदायका मुद्दाहरूको पक्षधर नेता भएकाले भविष्यमा पनि यो अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउन सक्ने व्यक्तित्व हुन्।
स्थानीय तहमा सुकुम्बासीका समस्या समाधानमा आयोगको कार्यशैलीबारे विभिन्न राजनीतिक दलले टिप्पणी गर्दै आएका छन्। केही दलहरूले आयोग निष्क्रिय भएको आरोप लगाउँदै चुनाव नजिकिँदा मात्रै सक्रियता देखाएको बताएका छन्। यसबारे स्पष्टीकरण दिँदै भण्डारीले, “आयोगले गरेको प्राविधिक काम देखिँदैन, तर आधारभूत तयारी नै मुख्य काम हो। हामीले महिनौँदेखि निरन्तर काम गरिरहेका छौँ। चुनावका कारण होइन, योजनाअनुसार नै काम अन्तिम चरणमा पुगेको हो,” भनिन्।
रौतहटको बलेरी टोलको सुकुम्बासी बस्तीमा आयोगका शीर्ष अधिकारीहरूको उपस्थितिले स्थानीयमा उत्साह देखिएको थियो। आगामी मन्त्रिपरिषद् तथा प्रशासनिक प्रक्रियाका आधारमा लालपुर्जा वितरण औपचारिक रूपमा कहिले सुरु हुने भन्नेमा सबैको नजर केन्द्रित भइरहेको छ।