रुपेन्द्र पटेल
रौतहट, ९ फागुन । दुई समुदायबीच भएको झडपले उग्ररूप लिएपछि रौतहटमा कर्फ्यु आदेश जारी गरिएको छ । शुक्रबार दुवै पक्षबीच ६ बुँदे सहमति भएपनि अवस्था नियन्त्रणभन्दा बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गरेको हो ।
सदरमुकाम गौरका केही संवेदनशील क्षेत्रमा कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आदेश तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो ।
जारी आदेशअनुसार पूर्वमा मुडवलवा गेट, पश्चिममा लालबकैया खोला, उत्तरमा जमुना नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ । तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा,जुलुस गर्न, प्रदर्शन गर्न तथा आवतजावतमा अवरोध सिर्जना गर्ने कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम आदेश जारी गरिएको जनाएको छ। कर्फ्यु आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय गौर ले शान्ति–सुरक्षा कायम राख्न सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गर्दै अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ ।








