गौर,१२ फागुन । रौतहट क्षेत्र नम्बर ४ आगामी चुनावसँगै फेरि एकपटक निकै तातेको निर्वाचन क्षेत्रका रूपमा उभिएको छ। दुईपटकसम्म भारी मतान्तरले जित निकालिसकेका नेपाली कांग्रेसका अनुभवी नेता देवप्रसाद तिमल्सिना यसपालि तेस्रोपटक पनि सहजै जित हात पार्ने आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएका छन्। उनले विगतमा गर्न बाँकी रहेका कामलाई पूरा गर्न मतदाताले फेरि आफूलाई जिम्मेवारी दिनुपर्ने दाबी गर्दै आएका छन्। तिमल्सिनाले आफ्ना अघिल्ला चुनावी उपलब्धिलाई आधार बनाउँदै यसपालि ‘ह्याट्रिक’ गर्ने लक्ष्य लिएका छन्।
यद्यपि तिमल्सिनाको यो सहज देखिने यात्रा रोक्नका लागि उनका प्रतिद्वन्द्वीहरू समेत उत्तिकै सक्रिय छन्। विशेषतः नेकपा एमाले का उम्मेदवार रामजी शाह आफूलाई बलियो चुनौतिका रूपमा उभ्याउँदै आएका छन्। शाहले सबै ठूला दलले चन्द्रनिगाहपुरका व्यक्तिलाई प्राथमिकता दिने तर आफू तल्लो भेगको वास्तविक प्रतिनिधि भएको जिकिर गर्दै जनताबाट सहज समर्थन पाइरहेको दाबी गर्छन्। उनी नयाँ, सक्रिय र क्षेत्रीय रूपमा जोडिएको उम्मेदवार भएकाले यसपालि आफ्नो जित सहज हुने विश्वास व्यक्त गर्छन्।
चुनावी भिड अन्त्यगत अझै रोचक बनेको छ, किनकि आम जनता पार्टी बाट चर्चित पत्रकार ऋषि धमला पनि प्रतिस्पर्धामा उत्रिएका छन्। धमलाको प्रवेशले परम्परागत मतधारामा हलचल ल्याउँदै, मुख्य प्रतिस्पर्धीहरूको भोट काट्न सक्ने अनुमान गरिएको छ। तर उनी आफू भोट काट्ने मात्र नभई ‘निर्वाचन जित्ने’ उद्देश्यका साथ आएको बताउँदै आएका छन्। स्थानीय मतदाताले उनको प्रभाव क्षेत्र, चर्चित छवि र प्रबल प्रचारप्रसारले निर्वाचन समीकरणमा उल्लेखनीय प्रभाव पार्ने टिप्पणी गरेका छन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार गणेश पौडेल पनि निकै सक्रिय छन्। नयाँ शक्तिको रूपमा उभिएको उक्त पार्टीले यसपटक पुराना वा ठूला दलहरूको एकाधिकारमा ‘ब्रेक’ लगाउने प्रयास गरिरहेको दाबी गर्दछ। पौडेलले युवा मतदाता, परिवर्तनको खोजीमा रहेका नागरिक र नयाँ राजनीतिक धार खोजिरहेका समूहबीच राम्रो उपस्थिती बनाइरहेका छन्।
त्यसैगरी जनता समाजवादी पार्टी ले पनि युवा उम्मेदवार राजकुमार दास तत्मा लाई उतारेर मैदान थप प्रतिस्पर्धी बनाएको छ। दास तत्मा युवामाझ लोकप्रिय, संगठनात्मक रूपमा सक्रिय तथा परिवर्तनमुखी एजेन्डा बोकेका कारण उनी पनि उल्लेखनीय मत खसाल्न सक्ने व्यक्तिमा परेका छन्।
गत निर्वाचनहरूको इतिहास हेर्दा रौतहट–४ मा परम्परागत रूपमा नेपाली कांग्रेस र एमालेबीच नै मुख्य कडा प्रतिस्पर्धा हुने देखिन्छ। त्यसैले, तिमल्सिना–शाहबीचको टकराव नै परिणाम निर्धारण गर्ने प्रमुख कारक मानिएको छ। तर यसपालि धमला, पौडेल र दास तत्मा जस्ता नयाँ र वैकल्पिक पात्रहरूको प्रवेशले निर्वाचनको समीकरण पुरै जटिल र अप्रत्याशित बनेको छ।
स्थानीय मतदाताहरूले पनि अहिले नै कसैको जितको अनुमान गर्न कठिन भएको बताइरहेका छन्। बढ्दो भीड, चर्को प्रचार, गठबन्धनका सम्भावित चलखेल र जनताको मनोविज्ञानले मतदानको दिन नजिकिँदै जाँदा वातावरण झन् तरंगित हुँदै गएको छ।
रौतहट–४ को राजनीतिक तरङ्ग अहिले यति चर्किएको छ कि अन्तिम क्षणसम्म परिणाम कसको पक्षमा जाने भन्ने अनुमान गर्न पनि कठिन छ। एकातिर तेस्रो जितका लागि विश्वस्त तिमल्सिना, अर्कोतिर क्षेत्रीय आधारमा आत्मविश्वासी शाह, तेस्रो कोणबाट धमलाको अनपेक्षित प्रवेश, रापसपको नयाँ ऊर्जा र जसपाको युवा कार्ड—यी सबै मिलेर यो क्षेत्रलाई देशकै सबैभन्दा रोमाञ्चक र हेरिरहनुपर्ने निर्वाचन केन्द्र बन्दै गएको छ।
अब सबैको ध्यान एकै प्रश्नमा केन्द्रित छ—
तिमल्सिना ह्याट्रिक गर्छन् कि विविध चुनौतीहरूमध्ये कुनै एकले उनको यात्रा यही रोकिदिन्छ?








