बारा, २० फागुन।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धार्मिक सद्भाव भड्काउने तथा शान्ति–सुरक्षामा खलल पुर्‍याउने प्रयास भएको आशंकामा ७ जनालाई प्रहरीले दुई छुट्टाछुट्टै घटनामा नियन्त्रणमा लिएको छ।
बुधबार बिहान करिब ३ बजेतिर पर्सागढी नगरपालिका–३ बडनिहार बजारमा संयुक्त चेकिङका क्रममा बा १० च १२५० नम्बरको गाडी जाँच गर्ने क्रममा टेपले बेरिएको चौकोर आकारको टिन बक्सभित्र शंकास्पद सामग्री फेला परेको प्रहरीले बताएको छ। गाडी बडनिहारतर्फ आइरहेको अवस्थामा रोकिएको थियो।
उक्त गाडीमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। नियन्त्रणमा परेकामा मनोज कुमार चौधरी, सहाब आलम अन्सारी, सुरुज काकी तथा सत्यनारायण थारु रहेका छन्।
यसैगरी मङ्गलबार राति करिब १० बजे विशेष सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँबाट ३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट ९ थान सुतली बम, एक थान सुँगुरको टाउको तथा करिब १० मिटर तार बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती व्यक्तिहरू सुँगुरको टाउको मस्जिदमा फ्याँकेर धार्मिक तनाव उत्पन्न गर्ने योजनामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। समयमै सुरक्षा निकाय परिचालन गरिएकाले सम्भावित अप्रिय घटना टरेको गोबिन्द थपलियाले जानकारी दिए।
नियन्त्रणमा परेकामाथि विस्फोटक पदार्थ सम्बन्धी कसूर, सार्वजनिक शान्तिविरुद्धको कसूर तथा निर्वाचनसम्बन्धी कसूरमा थप कानुनी कारबाही अघि बढाइने प्रहरीको भनाइ छ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउन प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। धार्मिक तथा साम्प्रदायिक सद्भाव भंग गर्ने गतिविधि कुनै हालतमा सह्य नहुने चेतावनी पनि प्रहरीले दिएको छ।