रौतहट –
प्रभु शाह नेतृत्वको आम जनता पार्टी यतिबेला नयाँ विवादमा तानिएको छ। राजनीतिक मुद्दाभन्दा बाहिर गएर सामाजिक सञ्जालमा पत्रकारमाथि गरिएको अभद्र व्यवहारका कारण अध्यक्ष शाह आलोचनाको केन्द्रमा पुगेका छन्। रौतहटका पत्रकारहरूमाथि उनले खुलेआम गालीगलौज गरेको आरोप लागेपछि घटनाले थप तरंग पैदा गरेको हो।
घटनाको सुरुवात पत्रकार संजय मिश्र ले लेखेको एक समाचारबाट भएको बताइएको छ। उनले आम जनता पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजनकुमार शाह ले पार्टी परित्याग गरेको विषय सार्वजनिक गरेका थिए। यही समाचारपछि मिश्रामाथि सामाजिक सञ्जालमा एक्कासि गालीको वर्षा सुरु भएको देखिएको छ। आरोप अनुसार, अध्यक्ष शाह स्वयं तथा उनका नजिककाले सञ्चालन गर्ने भनिएका विभिन्न फेक आइडीमार्फत पत्रकारलाई ‘लबरा’, ‘सुर’, ‘फटाहा’ जस्ता अपमानजनक शब्द प्रयोग गर्दै आक्रमण गरिएको हो।
यो आक्रमण केवल एक व्यक्तिमा सीमित नभई, शाहविरुद्ध समाचार लेख्ने अन्य पत्रकारहरूमाथि पनि लक्षित गरिएको बताइएको छ। स्थानीय पत्रकारहरूले यसलाई योजनाबद्ध रूपमा गरिएको चरित्रहत्या प्रयासको रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जालमा संगठित रूपमा गालीगलौज हुनु सामान्य प्रतिक्रिया नभई सुनियोजित गतिविधि जस्तो देखिएको उनीहरूको भनाइ छ।
यस घटनाप्रति प्रेस चौतारी नेपाल रौतहटले गम्भीर आपत्ति जनाएको छ। संस्थाका सचिव मुकेश कुमार शाह ले विज्ञप्ति जारी गर्दै समाचारप्रति असहमति भए कानुनी बाटो अपनाउन सकिने भए पनि पत्रकारमाथि गालीगलौज गर्नु कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्। उनले व्यावसायिक पत्रकारितामाथि यस्तो व्यवहार असह्य रहेको उल्लेख गर्दै तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन्।
समाचारमा चित्त नबुझे अदालतको ढोका खुला हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकारमाथि चरित्रहत्या गर्ने प्रयास हुनु प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप भएको विश्लेषण हुन थालेको छ। विशेषगरी मधेस क्षेत्रमा सक्रिय पत्रकारहरूले यसलाई डर देखाएर आवाज दबाउने प्रवृत्तिको रूपमा लिएका छन्। राजनीतिक नेतृत्वबाटै यस्तो गतिविधि हुनु लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाउने विषय बनेको छ।
यस प्रकरणले अध्यक्ष प्रभु शाह मात्र होइन, उनको पार्टीको छविमाथि समेत गम्भीर असर पार्ने देखिएको छ। अब सबैको ध्यान यसतर्फ केन्द्रित भएको छ कि—के यो विवाद केवल सामाजिक सञ्जालको आवेग हो, वा पत्रकारितामाथि दबाब सिर्जना गर्ने गम्भीर संकेत हो।








