रौतहट, २० चैत ।
भारतको बिहारस्थित मोतिहारीमा फेरि विषाक्त मदिराले कहर मच्चाएको छ। मदिरा बन्दी लागू भएको राज्यमै अवैध ‘जहर’ खुलेआम बिक्री हुँदा चार जनाको ज्यान गएको छ भने सात जना अस्पतालमा जीवन–मरणको संघर्ष गरिरहेका छन्।
घटनाले पुरै क्षेत्र स्तब्ध बनेको छ। स्थानीयहरू भन्छन्—मदिरा बन्दी कागजमै सीमित छ, व्यवहारमा भने गाउँ–गाउँमा अवैध भट्टी फस्टाएको छ। नियन्त्रणको नाममा प्रशासन मौन बस्दा निर्दोष नागरिकले ज्यान गुमाइरहेका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातले चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्। घटनामा संलग्न चौकीदार भरत राय र मुख्य आरोपी नागा रायलाई परिवारका महिलासहित प्रहरीले पक्राउ गरेको छ। यता, घटनापछि तुरकौलिया क्षेत्रका प्रहरी इन्चार्ज उमाशंकर मांझीलाई निलम्बन गरिएको छ—तर प्रश्न उहीँ छ, के निलम्बनले मात्र समस्या समाधान हुन्छ?
मृतकमध्ये चन्दू नामका एक स्थानीय युवक पनि छन्, जसको हतार–हतार अन्त्येष्टि गरिएको बताइएको छ। अस्पतालमा उपचाररत लोहा ठाकुरको बयान झन् डरलाग्दो छ। उनले स्प्रिट मिसिएको मदिरा सेवन गरेपछि स्वास्थ्य एकाएक बिग्रिएको र आँखाको ज्योति नै गुमेको बताएका छन्।
उपचारमा संलग्न चिकित्सकहरू पनि यसलाई स्पष्ट रूपमा विषाक्त मदिराको असर बताइरहेका छन्। केही बिरामीले स्थायी रूपमा दृष्टि गुमाउने जोखिम समेत रहेको उनीहरूको भनाइ छ।
आक्रोशित आफन्तहरू भन्छन्—मदिरा बन्दीपछि उल्टै अवैध कारोबार मौलाएको छ। ‘सरकारले बन्दी घोषणा गर्यो, तर बजारमा झन् सस्तो र घातक मदिरा छ्याप्छ्याप्ती पाइन्छ,’ एक स्थानीयको गुनासो छ।
उल्लेखनीय कुरा के भने, यही मोतिहारीमा तीन वर्षअघि पनि विषाक्त मदिराकै कारण ४५ जनाको ज्यान गएको थियो। त्यसबेला गरिएका प्रतिबद्धता र कडाइ अहिले कहाँ हराए?
बारम्बार दोहोरिने यस्ता घटनाले प्रशासनको अक्षमता र निगरानीको फितलो अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। आखिर, मदिरा बन्दी नागरिक बचाउनका लागि हो कि अवैध माफियालाई फलाउनका लागि?







