सिमरा, २१ बैशाख
बाराको परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा आइतबार राति भएको एक युवकको मृत्युले स्थानीय क्षेत्रमा अनेक प्रश्न उठाएको छ। ट्याक्टरले माटो खसाल्ने क्रममा एक अज्ञात युवक च्यापिएर ज्यान गुमाएको भनिए पनि घटनाको स्वरूप शंकास्पद देखिएको छ।
स्थानीय रामबाबु रौनियारको खाली जग्गामा रातिको समयमा माटो खसालिँदै थियो। त्यही क्रममा प्लास्टिक टिपेर जीविकोपार्जन गर्दै आएका करिब ३५ वर्षीय युवक ट्याक्टरको चपेटामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ। तर, घटनापछि देखिएका केही असामान्य गतिविधिले अनुसन्धानलाई थप जटिल बनाएको छ।
ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार घटनास्थलको अवस्थाले साधारण दुर्घटना मात्र नभई अन्य कोणबाट पनि अनुसन्धान गर्नुपर्ने संकेत गरेको छ। “शव ट्याक्टरले च्यापिएको स्थानभन्दा केही अगाडि सारिएको जस्तो देखिन्छ, त्यसैले हामी सिसिटिभी फुटेजको आधारमा थप अनुसन्धान गर्दैछौं,” उनले बताए।
मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरी टोली घटनास्थलमै पुगेर अनुसन्धानलाई तीव्र बनाएको छ भने स्थानीयहरू पनि घटनाबारे विभिन्न अड्कलबाजी गरिरहेका छन्।
रातको अँध्यारोमा भएको यो घटनाले दुर्घटना हो कि योजनाबद्ध रूपमा केही लुकाउन खोजिएको हो भन्ने प्रश्न खडा गरेको छ। सत्य के हो भन्ने खुल्न अब प्रहरी अनुसन्धानको निष्कर्ष कुर्नु पर्ने भएको छ।