मनहरी । राक्सिराङ गाउँपालिका वडा नम्बर ६ स्थित सिलिंगेमा प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोलीले गाउलेकै सहभागितामा ४७ औँ विश्व वातावरण दिवस मनाउनु भएको छ ।
उहाँको स्वागतका लागि चेपाङ तथा तामाङ झाँक्रीहरुले देखाएको ढ्यांग्रोसहितको झाँकीमा मन्त्री दुलाल आफैँ सहभागी भएर ढ्यांग्रो बजाउँदै नाच्दा स्थानीय खुसी भएका थिए । उहाँलाई साथ दिँदै संविधानसभा सदस्य गोविन्दराम चेपाङ, प्रदेश सांसद सन्तबहादुर चेपाङ, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल समेत उत्साहित हुँदै झाँकीमा सहभागी हुनु भयो ।
स्थानीय सिलिंगे सामुदायिक वन उपभोक्ता समूह राक्सिराङ ६, लिसा हिमालय इभी र श्री राष्ट्रिय माध्यमिक विद्यालयले स्थानीय टोल विकास संस्था र ६ नम्बर वडा कार्यालयको समन्वयमा विश्व वातावरण दिवस मनाएको हो । सिलिंगेबाट २ किलोमिटर ¥याली समेत निकालिएको थियो । ¥यालीमा विद्यालयका छात्राछात्रहरु, टोल विकास संस्थाका पदाधिकारी र स्थानीयलाई उत्साह भर्दै मन्त्री दुलालसहित अतिथिहरु सहभागी भएका थिए ।
¥यालीपछि राष्ट्रिय मावि सिलिंगेमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री दुलालले वातावरण दिवसमा देखिएको उत्साहको प्रशंसा गनुभयो । उहाँले वातावरण दिवस मनाइरहँदा जंगल जोगाउनुपर्ने भन्दै बृक्षरोपण गरी हरियाली वातावरण तयार पार्न सबैजना लाग्नुपर्ने बताउनु भयो । आफू शिक्षा, स्वास्थ्य लगायत विषयको नेतृत्व गरिरहेकाले प्रत्यक्ष रुपमा विद्यालयको अवस्था र सडकजस्ता भौतिक पूर्वाधारको अवस्था गाउँमा आएर राम्ररी अवलोकन गर्न पाएकाले आगामी दिनमा योजना तर्जुमा गर्न समेत सजिलो हुने उहाँले बताउनु भयो । उहाँले विद्यालयमा भवन, शिक्षक तथा प्राविधिक विषयको पढाईजस्ता विषयलाई आफूले प्राथमिकतामा पार्ने प्रतिबद्धता जनाउनु भयो ।
मन्त्री दुलालको सम्मानमा नेपाल चेपाङ संघ वडा समितिले गिट्ठाको माला लगाएर चिउरीको स्वाद चखाएको थियो । कार्यक्रमअघि सिलिंगे सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा मन्त्री दुलालले चिउरीको बिरुवा रोपेका थिए । सिलिंगे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष आइतसिंह चेपाङको अध्यक्षतामा भएको समारोहमा जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, लिसा हिमालय इभीका डाडिला झाएरिङ, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, वडा अध्यक्ष सिंगलाल चेपाङ, कृष्णबहादुर मुक्तान, जनचेतना कृषि सहकारी संस्थाका अध्यक्ष दिनेश चेपाङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए भने अतिथिहरुलाई चेपाङ बालबालिकाले गीतमार्फत स्वागत गरेका थिए ।