जनकपुर,२६ असार । कांग्रेसका नेता महेन्द्र यादवले प्रदेश नम्बर २ सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने होडवाजीमा लागेको आरोप लगाएका छन् ।
बिहीबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै पूर्व खानेपानी मन्त्री समेत रहेका नेता यादवले प्रदेश २ का मन्त्रीहरुबीच कसले कति अनियमितता गर्ने भन्नेमा प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका हुन् । विकास निर्माणमा लाग्नु भन्दा पनि कसरी आफ्नो ढुकुटी भर्ने र सरकारी ढुकुटी सक्ने भन्ने खेलमा मन्त्रीहरु र सरकार लागिरहेको छ, नेता यादवले भने, प्रदेश २ भ्रष्ट प्रदेशका रुपमा अघि बढ्दैछ । संघीयतालाई नै यो सरकारले बदनाम गर्दैछ ।
संघीय संरचनामा पनि प्रदेश सरकारले पुरानो जिविसको शैलीमा बजेट विनियोजन गरेको भन्दै उनले असारे बजेटका नाममा उपभोक्ता समिति मार्फत मन्त्रीहरु आफ्ना कार्यकर्ता पाल्ने काममा लागेको बताए । उपभोक्ता समितिको उद्देश्य ठीक रहेपनि गठन प्रकृया नै ठीक नरहेको उनको भनाई छ । आफ्ना आसेपासेलाई उपभोक्ता समितिमा राखेर कमसल काम गर्ने, बजेट दुरुपयोग गर्ने काम भइरहेको छ । आर्थिक वर्षको ११ महिनामा १३ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको प्रदेश सरकारले अन्तिम महिनामा ४ अर्ब भन्दा बढी बजेट कसरी खर्च गर्यो ? उनले प्रश्न गरे ।
प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेकाले अख्तियारले सरकारका क्रियाकलापमाथि छानविन गर्नुपर्ने माग यादवले गरे ।
उनले खानेपानी, सिचाई, शिक्षालय, सडक निर्माणजस्ता भौतिक पूर्वाधारका विषयमा प्रदेश सरकार मनोमानी र स्वेच्छाचारी रुपमा अघि बढेको आरोप लगाए ।