चन्द्रपुर,५ साउन ।
रौतहटको मर्धर सिमसार क्षेत्र नया पर्यटकिय स्थलको रुपमा विकास हुन थालेको छ । नयाँ पर्यटकिय गन्तव्यको सूचीमा परेपछि चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थितमा रहेको सिमसार क्षेत्र विकास हुन थालेको हो । सरकारले देशभरका एकसय ठाउँलाई पहिचान गरी नयाँ पर्यटकिय गन्तव्यको सूचि तयार गरेपछि मर्धर सिमसार क्षेत्रमा विकास हुन थालेको छ । सो क्षेत्रमा अहिले नक्सा सिमान गरी ३ वटा प्रतिक्षालय, ३ वटा धारा, शौचालय, पार्क तथा पोखरी संरक्षण लगायतका कार्य भएको छ । मेनुका सिमसार बहुउदेश्य नारी समुहले निर्माणको जिम्मा पाएको र अहिले काम भै रहेको छ । मर्धर सिमसार क्षेत्रलाई नयाँ पर्यटकिय स्थल बनाउनका लागी पहिलो चरणमा करिव ५० लाख बराबरको काम भएको निर्माण समितिका अध्यक्ष बिध्या सापकोटाले बताउनुभयो । सो क्षेत्र विकासका लागी १४ करोड रकम प्रस्तावित गरेको उहाँले जानकारी दिनुभयो । मन्दिर , भ्युटावर, झोलुगे पुल, पर्खाल, ढुगा तथा पाकिग लगायतका सुविधा रहने उहाँले बताउनुभयो । बहु उद्धेश्य योजना अन्तर्गत रहेको यस मर्धर सिमसार क्षेत्रमा करिव ३२ बिगाह जमिन रहेको उहाले बताउनुभयो । ऐतिहासिक तथा पौराणिक महत्व रहेको सिमसार क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सम्भवना रहेको स्थानिय दान वहादुर चौलागाईले बताउनुभयो ।सो स्थान पर्यटकिय गन्तव्यको रुपमा विकास भएपछि यस भेगका बासिन्दामा समेत परिर्वतन आउने उहाँको भनाई छ । जंगवहादुर राणाले हातीलाई पानी खुवाउने र आराम गर्नका लागी यस स्थानमा आउने गरेको स्थानिय बुढापाकाहरुको भनाई छ । मर्धर सिमसार क्षेत्र नयाँ पर्यटकिय गन्तव्य स्थलमा विकास भएपछि आर्थिक गतिविधि बढ्ने व्यापारीहरु बताँउछन् । सो स्थानलाई चन्द्रपुर नगरपालिकाले आन्तरिक आयका लागी माछापालनको ठेक्का लगाउने गरेको थियो । तर संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा मर्धर सिमसार क्षेत्र नयाँ गन्तव्यको रुपमा छनौट भएको हो । सो क्षेत्रमा साईवेरियन चरा समेत आउने भएकाले वृक्षारोपण लगायतका कार्य पनि गरिने भएको छ ।