चन्द्रपुर,२७ साउन / इस्लाम धर्मावलम्बीको महान पर्व बकर ईद (इदुल अज्हा) पनि एक हो । ईद ऊ जोहा अथवा ईल उद अधा, धेरै नामले विश्वभरीका मुसलमान समुदायले यस वर्षको बकर ईद पर्व आज मनाउँदै छन् । इस्लाम पात्रो हिजारी सम्वत्व अनुसार नया वर्षको जुल हिज्जा महिनाको १० औं दिन यो पर्व मनाइन्छ । कसरी मनाइन्छ यस दिन बिहान सबैरै उठेर नुहाएर शुद्ध हुने र खुलास्थान वा मस्जिदमा गई नमाज पढ्नुका साथै अंगालोमा बांधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, रांगा र भैसीको कुर्वानी (वली) दिने परम्परा रहेको चन्द्रनिगाहपुरका शेख वाहिद अलीले बताए । वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नो लागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम् तेस्रो भाग गरीब तथा असहायलाई दिने परम्परा रहेको छ, उनले भने यो पर्व तीन दिनसम्म मनाइन्छ ।
बाराको निजगढ बजारमा कुर्वानीका लागि खसी किन्नेको घुइचो लागेको छ । निजगढको हाट बजारमा बुधबार र आइतबार मुस्लिम समुदायले खसी खरिद गर्ने गरेकाले घुइचो लागेको हाट बजारका कर संकलन गर्दै आएका मनोज सापकोटाले बताए । यस्तो इतिहास मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको सपना देखे । सपनामा नै उनले आफ्नै छोरालाई आफैले छुरी रोपेर बली दिएको देखे । त्यसको भोलिपल्ट उनले विपनामा छोरालाई त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसंग रहेको भेडा म¥यो । त्यसपछि सोही घटनाको सम्झनास्वरूप यो पर्व मनाउन थालिएको हो । कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो । सद्भावको पर्व मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा, मीठा परिकार तथा प्रार्थना एकापसमा साटासाट गर्दछन् । नेपाली मुस्लिम समुदायले यो समय आफ्ना गैह्र मुस्लिम साथी भाइहरूलाई डाकेर मुस्लिम विशेषताले भरिएका अनेक परिकार जस्तै खसीको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसियाली साट्ने गर्दछन् । प्रदेश २ मा सार्वजनिक बिदा प्रदेश २ सरकारले बकर ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक बिदाको जानकारी दिदै सबैमा शुभकामना सन्देश पनि दिएका छन ्। शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।