चन्द्रपुर,२३ भदौ / डेंगु रोगबाट रौतहट सहित देशभर ७० हजार मानिस प्रभावित भएका छन् । पछिल्लो ढेड महिनामा डेंगुबाट चार जनाको मृत्यु भइसकेको छ । डेंगुको संक्रमण बढ्दै गएको भन्दै चिकित्सकहरुले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेंगुे संक्रमण बढ्नुको एउटा मुख्य कारण मानिएको छ । बगैंचा, करेसाबारी, छत, घर भित्रैका भाडामा रहेका पानीमा यो जातका लामखुट्टे सक्रिय रहन्छन् । त्यसैले घर तथा घर वरपर पानी जम्न नदिन चिकित्सकहरुले आग्रह गरेका छन् ।
घरभित्र भण्डारण गरेर राखिएको पानी राम्ररी छोपेर राख्नुपर्ने उनीहरुको सुझाव छ । डेंगु सार्ने लामखुट्टेले बिहान र दिउसो मात्रै टोक्ने भएकाले बिहान, दिउसो जीउ ढाक्ने कपडा लगाएर हिड्न चन्द्रपुर अस्पताल प्रालीका डाक्टर सुवास चौधरीको सुझाव रहेको छ । दिउसो सुत्ने बानी भए झुल प्रयोग गर्न डाक्टर चौधरीले सुझाव दिएका छन् । चन्द्रनिगाहपुर अस्पतालका प्रमुख डा.अभिनन्दन श्रीवास्तवले उच्च ज्वरो आउने, शरीर दुख्ने, बान्ता हुने, जस्ता समस्या देखिएमा तुरुन्तै अस्पताल जान र यसबाट हुन सक्ने समस्या कम गर्न आग्रह गरेका छन । यो जातको लामखुट्टे जमेको पानी तथा सफा पानीमा दुबैमा रहन सक्छ । घरमा रहेका भाडाकुडामा पनि धेरै दिन सम्म पानी नराख्न चिकित्सकको आग्रह छन । डेंगुका कारण पछिल्ला पांच बर्षको अवधिमा १३ जनाको मृत्यु भइसकेको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा जिल्लामै पहिलो पटक डेंगुका रोगी फेला परेपछि यस भेगका बासिन्दा त्रसित बनेकाछन् ।