काठमाडौं, १६ कात्तिक / २७ चैत, २०६४ मा रौतहटको राजापुरामा भएको बम विस्फोटमा मारिएका र इटा भट्टामा जिउँदै जलाइएका व्यक्ति हत्या अभियोगमा पूर्वमन्त्री तथा कांग्रेस सांसद महोम्मद अफताब आलमसहित ११ जनालाई जन्मकैदको मागदाबी हुने भएको छ । सो घटनामा घाइते भएका तथा पीडित सफी अहमदको बयान प्रमुख प्रमाणका रुपमा पेस गर्ने तयारी भएको छ । अहमदले त्यसबेला आलमको निर्देशनका आधारमा काम गरेका थिए । घटनामा उनी पनि घाइते भएका थिए । सफीले त्यसैबेला भारतको मोहितहारीका डा. तबरेज र प्रवेज आलमको क्लिनिकमा उपचार गराएको प्रमाण पनि पेस गरेको छ । योसँगै स्थानीयको बयान, पीडित परिवारको उजुरी, पीडित मध्येकी महिलाको हत्या भएको विषय पनि अनुसन्धानको घेरामा ल्याई बयान तयार पारिएको छ, जुन ७ सय पृष्ठ लामो छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आलमसहित ११ जनालाई जन्मकैदसहितका सजाय हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई शुक्रबार बुझाएको थियो । आलमका भाई महताब, सेख भईद, मोबिन आलम, शेख सराजलगायतविरुद्ध ज्यान मुद्दा लगाउने राय प्रहरीले बुझाएको छ । वकिलको कार्यालयले उक्त प्रतिवेदन अध्ययन गरी आइतबार जिल्ला अदालतमा मुद्दा दायर गर्ने भएको छ । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन पूर्वमन्त्री शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा केहीको मृत्यु भएको थियो भने सो क्रममा घाइते भएका त्रिलोकप्रताप सिंह र आसी अख्तरलाई आलमको इटा भट्टामा लगी जिउँदै जलाइएको थियो । प्रहरीले अनुसन्धानका क्रममा घटनाबारे तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी र सशस्त्रका एसपी राकृष्ण लामाले बयान नदिएको खुलाएको छ । तत्कालिन जिल्ला प्रहरी प्रमुख लक्ष्मण न्यौपानेको भने टिकापुर घटनामा हत्या गरिएको थियो । तत्कालिन डिआईजी, आईजीपी र इन्स्पेक्टरको भने बयान लिएर प्रतिवेदन तयार पारिएको प्रहरी स्रोतले जनायो ।