गौर,२९ कार्तिक / राजपुर बमकाण्डका घाइते गौरीशंकर राम चमारले सुरक्षाको माग गर्दै जिल्ला अदालत गौरमा निवेदन दिएका छन् । केहीदिन पहिला आफ्नो बयान फेर्दै आफु बमले नभएर स्टोभ पडकेर घाईने भएको भन्दै निवेदन लिएर जिल्ला अदालतमा आएका बेला पक्राउ परेका चमारले बिहिबार सुरक्षाको माग गर्दे अदालतमा निवेदन दिएका छन् । पूर्वमन्त्री मोहम्मद अफताब आलमका मान्छेहरूबाट आफू असुरक्षित भएको भन्दै उनले अदालतमा निवेदन दिएका हुन् । विस्फोटमा परेर घाइते भएका चमारको अनुहारको तल्लो भागदेखि छातिसम्म जलेको छ । चमारले उक्त घटना आलमको योजनामा भएको भन्दै केही समय पहिले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । कार्तिक २५ गते बयान फेर्दै भारत बिहारको सीतामढी ग्राम मुसाचौक बैरगानिया निवासी चमारले मट्टितेलको स्टोभ पड्कँदा आफ्नो अनुहार जलेको विवरण निवेदनमा लेखेका थिए । प्रहरीले पक्राउ गरेपछि उनले आलमका मान्छेले अपहरण गरेर बयान फेर्न लगाएको बताएका थिय । उनले आफू स्टोभ पड्किएर नभइ २०६४ सालमा राजपुरको फरहदवामा भएको बम विष्फोटमा परेर घाइते भएको पनि प्रष्ट पारेका छन् । उनले बिहिबार दिउसो आलम पक्षका मानिसहरूबाट असुरक्षित रहेको भन्दै सुरक्षाका लागि अदालतमा निवेदन दिएका छन् । फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११४(१) बमोजिम आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाई अबिलम्ब मेरो बकपत्र गराई पाउन सम्मानित अदालतसमक्ष यो निवेदन पेश गरेको छु, उनले दिएको नवेदनमा उल्लेख छ ।