चन्द्रपुर,१ मंसिर / बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने क्रम तीव्र भए पनि रोक लगाइएको छैन । रौतहट र सर्लाहीको सिमाना भएर बग्ने बागमतीमा करेन्ट लगाएर माछा मार्नेको ठूलै भीड लाग्छ । गिरोहले स्थानीय प्रशासनलाई प्रभावमा पारेर बागमतीमा माछा मार्न भीड लगाउने गरेको स्थानीयको आरोप छ । चन््रपुर नगरपालिका वडा नं. १ बाट दैनिक करेन्ट लगाएर माछा मार्ने गरिएको छ । खोला तथा नदीमा करेन्ट लगाउन, विषादी हाल्न र बम पड्काउन नपाउने स्पष्ट कानुनी व्यवस्था छ । करेन्ट लगाएर माछा मार्दा माछासंगै माछाका भुरा, भ्यागुता, गोहीका बच्चालगायतका जलचर पनि मर्छन् । पूर्व–पश्चिम राजमार्गको पौराईस्थित बागमती पुलतल करेन्ट लगाएर र त्यसभन्दा माथि मकवानपुर र सिन्धुलीको बीचमा बम पड्काएर माछा मार्ने गरिएको स्थानीयको भनाइ छ । प्रहरी चौकी पौराईले समेत खोलामा करेन्ट लगाएर माछा मारेको थाहा नपाएझै गर्ने गरेको स्थानीयले बताए । माथिल्लो भेगमा करेन्ट लगाएर माछा मारेका कारण माछाका भुरा मरेर बागमतीको तल्लो भागमा माछा पाउन छाडेको तल्लो भेगका बासिन्दाको भनाइ छ । ब्याट्रीमा तार जडान गरेर बासको भँडाको मद्दतले करेन्ट लगाउने र अरू दुई–तीनजनाले तल्लो भागमा जाल थापेर माछा मार्ने गरेका छन् । यसरी मारिएको माछा प्रतिकिलो चार सयका दरले बिक्री हुने गरेको छ । करेन्ट लगाएर मारिएको माछाको समेत ठेकेदारमार्फत चन्द्रपुर नगरपालिकाले कर उठाउने गरेको छ । एक हजारको माछाबराबर दुई सय रुपैया कर बुझाउनुपर्ने करेन्ट लगाएर माछा मार्नेहरूको भनाइ छ । डिभिजन वन कार्यालय रौतहटका एक अधिकृतका अनुसार जाल थापेर माछा मार्न ठेक्का लगाउने निकायले नै करेन्ट लगाएर माछा मार्न रोक लगाउनुपर्छ । जाल थापेर माछा मार्न चन्द्रपुर नगरपालिकाको वडानं १ले ठेक्का लगाउने गरेको छ ।