अशोक पहाडी,२ मंसिर / चन्द्रपुर नगरपालिकामा केही दिनको लागि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका कृष्ण प्रसाद सिग्देल नयां कार्यालय प्रमुख आएपछि आफ्नै स्थानमा झरेका छन् । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख रहेका सिग्देल चन्द्रपुर नगरपालिकामा आएपछि शिक्षामा कुनै गुणात्मक सुधार आउन नसकेको गुनासो बढ्दै गएको छ । शिक्षा शाखा प्रमुख सिग्देल र चन्द्रपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा मनलाग्दी मासिक शुल्क, परीक्षा शुल्क लिने क्रम तिव्र भएको अभिभावकहरुले बताएका छन् । सिग्देलले चन्द्रपुर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको नियमित अनुगमन तथा निरिक्षण नगरेका कारण विद्यालयको शैक्षिक अवस्था खस्कदै गएको एक जना अभिभावक रवि रानाले बताए । केही दिन पछिलासम्म चन्द्रपुर नगरपालिकाको निमित्त प्रमुखको जिम्मेवारी पाएको मौका सिग्देलले चौका हान्न भ्याएको कर्मचारीले बताएका छन् । सिग्देलले हाकिम भएको बेला चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखासंग आर्थिक अनियमितता गरेको नगरपालिकाका एक कर्मचारीले बताए । सिग्देलले स्वास्थ्य शाखाको प्रमुखको मिलेमतोमा डेंगु नियन्त्रणका नाममा नगरपालिकाबाट ३ लाख निकासा गरेर अनियमितता गरेका हुन । चन्द्रपुर नगरपालिकालाई डेंगु नियन्त्रणका लागि नेपाल सरकारबाट ५ लाख आएकोमा चन्द्रपुर नगरपालिकाबाट थप ३ लाख निकासा गरेका थिए । डेंगु नियन्त्रणका नाममा १० वटा वडामा सिमित मानिसहरु बोलाएर ५ सयका दरले भत्ता दिदै डेंगु नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको थियो । डेंगु नियन्त्रणका नाममा माखो समेत नमारेको चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखा र तत्कालिन कार्यालय प्रमुख सिग्देलको मिलेमतोमा ८ लाख रकम स्वाहा भएको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दाले बताएका छन् । डेंगु नियन्त्रणका नाममा कागजी घोडा दौडाएर सिग्देल र स्वास्थ्य शाखा प्रमुखले खर्च गरेको ८ लाखको विषयमा एक स्थानीय बासिन्दाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्ने तयारी गरेका छन् ।
चन्द्रपुर नगरभित्र रहेका सामुदायिक विद्यालयहरुमा खाजाको नाममा भएको आर्थिक अनियमिततामा समेत सिग्देलको संलग्नता रहेको भन्दै अख्तियारमा उजुरी दिने तयारी भएको हो । आफु निमित्त कार्यालय प्रमुख रहेको बेला सिग्देलले घुस रकममा शुन्य थपेर मागेको विषय यतिबेला चन्द्रपुरका ठेकेदारवीच चर्चाको विषय बनेको छ । चन्द्रपुर नगरपालिकामा नया कार्यकारी प्रमुख आएपछि नगरपालिकाको माथिल्लो तलाबाट तल्लो तलामा झरेका सिग्देल यतिवेला टाउको हात लगाएर बस्ने गरेको एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा तराई एक्सप्रेसलाई जानकारी दिए । सिग्देलले चन्द्रपुर नगरको शिक्षा क्षेत्रको सुधारमा भन्दा पछिल्लो समय आफ्नै आर्थिक स्थिति सुधारमा तल्लिन रहेको समाचार श्रोतले जनाएको छ ।