गरुडा,६ पुस ÷प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले बन्द रहेको रौतहटको श्री राम सुगर मिल जसरी भएपनि सञ्चालन गर्नैपर्ने बताएका छन । किसानको करोडौ रकम भुक्तानी दिनुपर्ने बक्यौता राखेर उद्योगपति हितेश गोल्छाले विभिन्न बाहाना झिकेर श्रीराम सुगर मिल यस वर्ष सञ्चालन गर्न अहिलेसम्म कुनै चासो नदेखाएको प्रति कृषि राज्य मन्त्री यादवले काडा आपत्ति जनाएका छन । उखु उत्पादक संघ रौतहटका पुर्व अध्यक्ष जयनाथ यादवले श्रीराम सुगर मिल्स गरुडाको प्रांगनमा शनिबार आयोजना गरेको किसान जन जागरन अभियान अन्तर्गत मिल्स बचाउ कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै किसान र उद्योगी बिच रहेको समस्या समाधान गर्नका लागि गठित समितिका संयोजक समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले उद्योगीले जसरी भएपनि किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने र मिल्स पनि सञ्चालन गर्नुपर्ने बताएका हुन । श्रीराम सुगर मिल्स विगत पांच वर्षको गरी किसानको ४२ करोड रुपैया भुक्तानी गर्न बांकी राखेको र यस वर्ष अहिलेसम्म पनि मिल सञ्चालन गर्न कुनै चासो नलिएको देखिएको छ ।