ओम प्रकाश यादव ,गरुडा,२३ पुस ।
सरस्वती पुजा नजिकिदै जांदा रौतहटका मुर्तिकारहरुलाई यतिखेर मुर्ति बनाउन भ्याइ नभ्याई भएको छ । यस वर्षको सरस्वती पुजा आउंदो माघ १६ गते विहिवारका दिन रहेको छ । सरस्वती पुजा आउंन अब तिन सातामात्रै बंँकी रहेकोले मुर्तिकारहरु सरस्वतीको मुर्ति बनाउन निकै व्यस्त भएको देखिएको छ ।
प्रत्येक वर्ष विद्याथीहरुले श्रीपञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पुजा आराधना गर्ने गर्दछन पुजाको लागि माटोबाट बनाईएको सरस्वती माताको मुर्तिको आवश्यक्ता पर्ने गर्छन ।
सरस्वतीको मुर्ति बनाएरै राम्रो आम्दानी लिन र व्यवसाय प्रवद्धनको लागि यहांका कालिगढहरु यतिखेर सरस्वतीको मुर्ती बनाउन व्यस्त भएका हुन ।
माता सरस्वतीको पुजा अर्चनामा मुर्तिको प्रतिमाको आवश्यक्ता पर्ने भएकाले जिल्लाको गरुडा, मलाहिटोल, कटहरिया, चन्द्रनिगाहपुर, मौलापुर, शिवनगर, हर्षाहा, सदरमुकाम गौर सहित बिभिन्न स्थानमा सरस्वती माताको मुर्ति बनाउन कालिगढहरु लागेका छन ।
एउटा सरस्वातीको मुर्ति तीन हजार देखि लिएर पाच हजार सम्ममा बिक्रि हुने गरेको मुर्तिकारहरुले बताएका छन ।
प्रत्येक वर्ष सरस्वती पुजाको समयमा १ महिनामानै मुर्ति बनाएरै आफु १ लाख सम्म आम्दानी गर्दैआएको मौलापुर बजारमा मुर्ति बनाउंदै गरेका मुर्तिकार प्रमोद पंडित कुम्हारले बताए ।
विशेष गरि दुर्गापुजा, विश्वकर्मापुजा, कृष्णाजन्माष्टमी र सरस्वति पुजाको समयमा मुर्तिको माग हुने गरेको उहाँले जानकारी दिए । सरस्वती पुजा धार्मीक परम्परा भएपनि त्यसभित्र ठुलो व्यवसाय लुकेको मुर्तिकारहरुले बताएका छन् ।
आफ्नो प्रतिभाबाट विभिन्न पुजा अर्चनामा चाहिने भगवानको प्रतिमा बनाएर वार्षिक लाखौको आम्दानी गर्ने गरेको मुर्तिकारहरुले जनाएका छन् ।
रौतहटका अधिकांश निजी तथा सामुदायीक विद्यालयहरुले सरस्वती पुजाको दिनमा विद्यालयमा मुर्तिको प्रतिमा प्रतिस्थापन गरेर पुजा मनाउने गरेका छन् ।