गौर,२५ पुस / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले विद्यालयलाई पैसा कमाउने तथा राज्य कोषको दोहन गर्ने भाडो बनाएका शिक्षक नहटदासम्म गुणस्तरीय शिक्षा सम्भव नभएको बताएका छन् । बिहिवार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साहले राज्यले जनतालाई शिक्षित बनाउन संचालन गरेका विद्यालयबाट पढाउनको सट्टा शिक्षकले पैसा कमाउनमा ध्यान केन्द्रित गर्दा शिक्षा क्षेत्रमा बेथिति सृजना भएको आरोप लगाए ।
विद्यालय व्यवस्थापन, संरचना निर्माण, विद्यार्थीलाई सहुलियतजस्ता विभिन्न शिर्षकमा राज्यले पठाउने बजेट हिनामिनामा मात्र शिक्षकको ध्यान भएकाले त्यस्ता शिक्षकलाई बर्खास्त गर्नुको विकल्प नभएको उनको जीकिर छ । विगत लामो समय देखि शिक्षा क्षेत्रमा ठुलो बेथिति जरा गाडेर बसेको छ ।
त्यो के हो भने एकातिर विद्यालयमा गाउँका मुखिया महाजनले आफ्ना छोराछोरी शिक्षक भर्ती गरेर राख्नु र अर्को्तिर विद्यालयलाई पैसा कमाउने भाडो बनाएर शिक्षक बन्नु । र यहि कारणले आजसम्म शैक्षिक क्षेत्रमा सुधार हुन सकेको छैन अध्यक्ष साहले भने ।
उनले थपे, ती मुखिया महाजनका छोराछोरी भलै पढाउन नजानुन तर तिनीहरु आफुलाई शिक्षा क्षेत्रको ठेक्केदारको रुपमा उभ्याएर बेथिति सृजना गरेका छन् । राज्यको तलब खाने तर शिक्षामा गुणस्तर कायम गर्न नसक्ने त्यस्ता शिक्षक समाजका सत्रु हुन् । पैसा कमाउन र राज्यकोषको सम्पत्ति दोहन गर्नका लागि शिक्षक बनेकाहरुलाई बर्खास्त नगरेसम्म गुणस्तरीय शिक्षा असम्भव छ । त्यसैले राज्य एवम समाज यस प्रति गम्भीर हुनैपर्छ ।