चन्द्रपुर,१३ फागुन / नेकपा रौतहटमा रहेको विवादका कारण जिल्ला कमिटि सदस्यहरुको सपथग्रहण समेत हुन सकेको छैन् । खास गरेर रौतहटका दुई नेता पुर्व प्रधानमन्त्री माधव नेपाल र पुर्व मन्त्री प्रभु साह बिचको बिवादका कारण नेकपा रौतहटमा बिभिन्न समस्या आउन थालेका छन् । पछिल्लो समय यी दुई नेता बिचको बिवाद बिहिर आउन थालेको थियो ।
यस भन्दा पहिला दुबैले एकले अर्कोलाई भित्रभित्र रिस गर्दै आएकोमा पछिल्लो समय दुबैको कुरा बाहिर आएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता माधवकुमार नेपाललाई अख्तियारले मुद्दा लगाउनुपर्ने अभिव्यक्ति दिएका कारण नेकपाले प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहलाई कारवाही गर्नुपर्ने माग एक पक्षले उठाउन थालेको छ । फागुन १० गते बसेको नेकपा सचिवालय बैठकले माधव नेपालको मागपछि प्रभु साहलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा माधव नेपालमाथि अख्तियारले मुद्दा नलगाएको भन्दै साहले फेसबुकमार्फत आपत्ति जनाएका थिए ।
उनले बालुवाटार जग्गा प्रकरणमा धेरैजसो निर्णय माधव नेपालको क्याबिनेटले गरेकाले उनलाई उन्मुक्ति दिएको भन्दै अख्तियारको आलोचना गरेका थिए । प्रभु साहले सार्वजनिक रुपमा नेताहरुको बिरुद्ध बोलेको भन्दै पार्टीले स्पष्टिकरण मागेको हो । नेपाल र साह दुवै रौतहटका हुन । यी दुई नेताबीच पार्टी एकतादेखिनै राम्रो सम्बन्ध छैन । रौतहट जिल्ला कमिटी गठन गर्दा प्रभु साहले माधव नेपाल पक्षका नेताहरुलाई हटाएको आरोप लागेको छ ।
साह प्रचण्ड निकट नेता हुन् । तर उनलाई प्रचण्डले यसपटक जोगाउन चाहेनन् । केन्द्रमा माधव नेपालसँग प्रचण्डको गठबन्धन चलिरहेकाले प्रभु साहलाई कारवाही गर्न प्रचण्ड सहमत भएका हुन् । यसअघि माधव नेपालसँग झगडा परेपछि प्रभु साहले प्रदेश अध्यक्षबाट राजिनामा दिएका थिए । तर सचिवालय बैठकले उनको राजिनामा अश्वीकृत गरेको थियो ।