चन्द्रपुर २५ फागुन / पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको बागमतीमा रोकिरोखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन्। शनिबार राति चन्द्रपुर नगरपालिका–१ मा टायर पन्चर भएर रोकेर राखिएको माल बाहक ना ६ ख ७०१३ नम्बरको ट्रकलाई ना ६ ख ३८२२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा धनुषाको शहीद नगरपालिका–१ का ना ६ ख ३८२२ नम्बर ट्रकको चालक मनोजकुमार यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए । सोही ट्रकका सहचालक धनुषाकै गणेशमान चारनाथ नगरपालिका–१ का श्यामसुन्दर यादव घाइते भएका छन् । मृतकको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पठाइएको र घाइतेलाई उपचारका लागि वीरगंजस्थित बयोधा अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले बताए । यता, गरुडा नगरपालिका–४ स्थित चन्द्रनिगाहपुर–गौर सडकखण्डमा भेटिएका करिब ५० वर्षीया एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। सडक छेउमा लडिरहेको अवस्थामा भेटिएका ती पुरुषलाई उद्धार गरी प्रहरीले अस्पताल पुर्‍याएको पनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । शव जिल्ला अस्पताल गौरमा पोस्टमार्टम गरी राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले जानकारी दिए।

थाहा खबरबाट