सर्लाही,७ चैत्र ।
सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेड यस सिजनको उखु क्रसिङ सकेर चैतको पहिलो साता नै बन्द हुने भएको छ । गत वर्ष वैशाख दोस्रो हप्तासम्म चलेको चिनी उद्योग यस वर्ष चैत पहिलो साता नै बन्द हुने भएको हो ।
सर्लाही, महोत्तरी, रौतहट र बाराको गरी कूल २२ हजार क्षेत्रफलको उखु किसानले इन्दु शङ्करसहित जिल्लाका अन्य चिनी मिलका साथै छिमेकी जिल्लाका चिनी मिलसम्म पु¥याउने गरेका छन् । यस उद्योगले गत वर्ष ३५ लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो ।
यस वर्ष गत वर्षको तुलनामा लक्ष्यभन्दा घटी उखु क्रसिङ भएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । यस वर्ष पनि ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्यका साथ माघ ११ गतेबाट सञ्चालन भएको उद्योगले अहिलेसम्म २६ लाख ५० हजार क्विन्टल मात्र उखु क्रसिङ गरेको र उद्योगको रेकर्डमा रहेको जग्गाको क्षेत्रफलअनुसारको उखु सकिएको भन्दै उद्योग चैत पहिलो साता नै क्रसिङ सकिएकाले उद्योग बन्द गर्ने तयारीमा रहेको प्रबन्धक रजकले बताए ।
किसानले पाउनुपर्ने भुक्तानी तथा अनुदान नपाएको भन्दै किसानले पछिल्लो समयमा उखुखेती कम गर्न थालेपछि लक्ष्यअनुसार उखु नआएको उद्योगले जनाएको छ । ऋण गरेर किसानले गरेको उखुखेतीको समयमै भुक्तानी तथा अनुदान नपाउँदा किसानको उखुखेतीप्रति मनोबल कमजोर भएको र अरु खेतीतर्फ किसान आकर्षण हुन थालेको जानकारले बताएका छन् ।
जिल्लामा तीन चिनी उद्योग भए पनि एउटा गत वर्षको अनुदान र भुक्तानी नै बाँकी रहेका कारण यस वर्ष सञ्चालन नै हुन सकेन भने एउटा केही दिन पहिला नै बन्द भइसकेको छ । इन्दु शङ्कर चिनी उद्योग पनि लक्ष्यअनुसार उखु क्रसिङ नभएपछि चांडै बन्द हुन लागेको हो ।