ओम प्रकाश यादव गरुडा १ १ चैत्र । रौतहटको गरुडा नगरपालिका जिल्लामै पहिलो पटक आफना नगरवासीको लागि एक रुपैया पनि नलाग्ने टोल फ्रि नम्बर सोमबारदेखी सञ्चालनमा ल्याएको छ । नगरवासीको जिज्ञासा एवं गुनासो सुन्नको लागि नगरपालिकाले सोमबारदेखी टोल फ्रि नम्बर १६६०५५५२००१ सञ्चालन गरेको हो । सञ्चालन भएको टोल फ्रि नम्बरमा विहान १० बजेदेखी लिएर बेलुकी ४ बजेको बिचमा कल गरी आफना जिज्ञासा एवं गुनासो टिपाउन नगरपालिकाले आफना नगरवासीलाई आग्रह गरेको हो । जिल्लामै अहिलेसम्म कुनै पनि स्थानीयतह टोल फ्रि नम्बर सञ्चालन गर्न नसकेको अवस्थामा पहिलो पटक गरुडा नगरपालिकाले आम जनताको लागि नि:शुल्क टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो । कोरोना भाइरसको अशंका लागेमा वा विकास निर्माणको कामदेखी लिएर नगरपालिकाको कुनै पनि गतिविधिको विषयमा चित नबुझेमा उक्त टोल फ्रि नम्बरमा सम्पर्क गरी गुनासो गर्न नगरपालिकाले सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । आम नगरवासीको जिज्ञासा एवं गुनासो सिधा मेयर समक्ष पुरयाउने लक्ष्यका साथ यो टोल फ्रि नम्बर सञ्चालन गरिएको मेयर ईनु राय यादवका सहयोगी स्वकीय सचिव गोपाल यादवले बताउनुभएको छ । टोल फ्रि नम्बरमा आउने कल गोपाल यादव रिसिव गर्नुहुने छ भने आम जनताको जिज्ञासा एवं गुनासो यादवले नै मेयर ईनु राय यादव समक्ष पुरयाउने काम पनि गर्नुहुन्छ ।