ओम प्रकाश यादव
रौतहट, चैत्र २८ गते । विश्वमै अहिले कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला सुख्खा मौसम शुरुभएसँगै विभिन्न किसिमका रोग लाग्ने सक्ने पनि जोखिम बढेको छ ।
पुरै विश्व नै कोरोनाले आक्रान्त बनेको अवस्थामा अहिले मौसम परिवर्तनको समय भएका कारणले गर्दा विभिन्न रोग लाग्न सक्ने भन्दै त्यसतर्फ पनि ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) तिर नै मात्रै ध्यान केन्द्रित नगर्न र यस गर्मीको मौसममा लाग्न सक्ने अरु रोगबाट बच्नका लागि सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका हुन् ।
रौतहटको अनामिका हस्पिटलका एमबीबीएस डा. आरवी प्रसादले जाडोको मौसम सकिएर अहिले गर्मी सुरु भएकोले झाडापखाला, आउँ, टाइफाइड लगायतका रोग पनि लाग्न सक्ने जोखिम भएकाले ख्याल गर्न र विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
अहिले नेपाल सहित विश्वभरी नै कोराना संक्रमण, यसबाट बच्ने उपाय लगायत कोरोनाकै मात्र चर्चा भइरहेकाले अरु रोग ओझेलमा परेको भन्दै त्यसमा पनि ख्याल गर्न उहाँको सुझाव छ ।
यी सबै रोगबाट बच्न मास्कको प्रयोग गर्ने, सेनिटाइजर अथवा साबुन पानीले नियमित राम्ररी हात धोएर मात्रै खानेकुरा खाने, उमालेको पानी मात्र पिउने, झोलिलो खानेकुरा खाने र उच्च ज्वरो तथा खोकी एक हप्तामा पनि निको नभए डाक्टरको सल्लाह लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।