गौर १३ बैशाख ।
रौतहटको परोहा नगरपालिकाले राहत वितरणको सम्पूर्ण विवरण सार्वजनिक गरेको छ । रौतहटको १८ स्थानीय तह मध्ये सरकारी राहतको विवरण सार्वजनिक गर्ने पहिलो स्थानीय तह परोहा नगरपालिका बनेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले राहत वितरणको आय तथा व्यय सार्वजनिक गरेका हुन् । परोहा नगरपालिका वडा नं–१ मा २२५ घरधुरी, २ मा २५१ घरधुरी, ३ मा ३४७ घरधुरी, ४ मा २९१ घरधुरी, ५ मा २१९ घरधुरी, ६ मा २५२ घरधुरी, ७ मा ३३० घरधुरी, ८ मा ३१३ घरधुरी र ९ मा ३८० घरधुरीलाई राहत वितरण गरिएको हो । यसैगरी नगरपालिकाको क्वारेन्टाइनमा बसेका २६ तथा विभिन्न मठ मन्दिर १६ गरी जम्मा दुई हजार ७५० घरधुरीलाई राहत वितरण गरिएको छ । प्रतिपरिवार चामल १५ किलो, दाल २ किलो, खानेतेल १ लिटर, नून १ किलो र सोयाबिन मस्यौरा ५०० ग्राम सहितको प्याकेज बनाएर वितरण गरिएको हो । प्रती परिवार रु.११८५ को राहत खाद्यान्न वितरण गर्दा कूल ३२ लाख ५८ हजार खर्च गरेको नगरपालिकाले जनाएको छ । राहतका लागि प्रदेश सरकारले प्रदान गरेको रु. १५ लाख र बाँकी नगरपालिकाको स्रोतबाट खर्च गरिएको र नगरपालिकाले पहिलो चरणको राहत वितरण कार्य सम्पन्न भएको जनाएको छ ।