काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हिटलर, स्टालिन र चाउचेस्कुसँग तुलना गर्दै इतिहासबाट ओली प्रवृत्तिलाई छिटो विदा गर्नुपर्ने अभिव्यक्ति दिएका छन्। इन्टरनेट सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री ओलीमाथि कटाक्ष गरेका हुन्। ‘ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं’ शीर्षकको सो स्टाटसमा भट्टराईले जर्मन नाजी तानाशाह हिटलरदेखि कम्युनिष्ट तानाशाहहरू स्टालिन र चाउचेस्कुसम्मको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीमा सोही प्रवृत्ति रहेको जिकिर गरेका छन्। स्टाटसको अन्त्यमा उनले लेखेका छन्, ‘अति भए पछि खति हुन्छ भनिन्छ। त्यसैले अब छिटो भन्दा छिटो सबै पार्टीहरू, संसद, अदालत, मिडिया, नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोना भाइरस भन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाका निम्ति विदा गरौं! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ!’ तराईकेन्द्रित साविकका समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी फुटाउने उद्देश्यले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेका प्रधानमन्त्री ओली यतिखेर निकै आलोचित छन्। वैशाख ८ गते ल्याइएको सो विद्येयकमाथि व्यापक आलोचना भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले १२ गते त्यसलाई खारेज गरेकी थिइन्। बाबुरामको फेसबुक स्टाटस : ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं ! -यो भष्मासुर प्रवृत्ति हो : हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ!तर उसले पछि ऋषिहरू (कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन्! ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता,सांसद,विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ !
थाहा खबर डटकमबाट